प्रविधि विकासले घट्यो पारिवारिक सल्लाह

प्रविधि विकासले घट्यो पारिवारिक सल्लाह


प्रविधिको विकासले साँझ विहानको समयमा घरमा हुने पारिवारिक जमघट र घर सल्लाह घटेको छ। विगतमा सबै परिवार जम्मा भएर गरिने घर सल्लाह अहिले आएर घटेको देखिन्छ। 

नागरिकहरु मोबाइल, टेलिभिजन, कम्प्युटरजस्ता प्रविधिमा ब्यस्त रहन थालेपछि पारिवारिक सल्लाह निकै घटेको बताइन्छ। टीकापुरकी लक्ष्मी शर्माको घरमा दुई वर्षअघि बेलुकाको खानापछि परिवारका सबै सदस्य बसेर रमाइला गफगाफ, दिनभरिको कामको समिक्षा हुन्थ्यो तर अचेल त्यसरी छलफल गर्ने फुर्सद कसैलाई छैन। ‘हामी सबैजना कम्तीमा आधा घण्टा सँगै बसेर कुराकानी गर्थ्यौं, आजभोलि त जम्मा हुनै मुश्किल भएको छ’, लक्ष्मीले भनिन्, ‘घरमा इन्टरनेट जडान गरेदेखि सबै व्यस्त भए। केही कुराकानी गर्नुपरे पनि मोबाइलबाट, म्यासेजबाट गर्न थालिएको छ।’

लक्ष्मीकाअनुसार प्रविधिको प्रयोगले पारिवारिक दूरी बढाएको छ। ‘सँगै बसेर खाना खाने समय पनि हुन थालेको छैन। छोराछोरी पनि कोठा मै लगेर मोबाइलमै खेल्दै खाना खान थालेका छन्’, उनी थप्छिन्, ‘आजभोलि म पनि मोबाइलमा फेसबुक चलाएरै बस्छु। सबै व्यस्त भएपछि म पनि मोबाइलमै रमाउन थालेँ।’

लक्ष्मीलाई यसरी सल्लाह नभए, पारिवारीक समस्या पहिचान र समस्या समाधानमा समस्या आउने हो कि भन्ने चिन्ताले सताउन थालेको छ। 

लम्कीचुहा नगरपालिकाका धनबहादुर विकको घरमा पनि यस्तै समस्या छ। धनबहादुरका छोराछोरी कलेज पढ्ने उमेरका छन्। धनबहादुरका घरमा दुई छोराछोरी र उनको दम्पत्ती गरी चार जनाले मोबाइल चलाउँछन्। ‘बुवाआमा बुढा छन्, विगतमा बुबाआमाको वरीपरी बसेर खाना खान्थ्यौँ, आजभोलि त्यो छुटेको छ’, उनले भने, ‘शुरुशुरुमा म फेसबुक र युटुवमा निकै रमाएँ तर आजभोलि चिन्ता बढेको छ। कतै छोराछोरी गलत बाटोमा लाग्ने त होइनन् भनी पिर भने बढेको छ।’

धनबहादुरका बुबाआमाले छोराछोरी, नातिनातीनीसँग राम्ररी गफगाफ गर्न पाएका छैनन्। प्रविधिको प्रयोग गर्नु सकारात्मक भए पनि यसरी पारिवारिक दूरी बढ्ने गरी चलाउनु गलत हो भन्ने राम्ररी बुझे पनि रोक्न नसकेको उनको भनाइ छ।

टीकापुर–१ की समिक्षा जैसी कर्मचारी हुन्। उनका छोरा नौ कक्षा पढ्दै छन्। गत वर्ष कोरोना महामारीपछि छोरालाई अनलाइन कक्षाका लागि समिक्षाले मोबाइल किनिदिइन्। फुर्सदमा छोरा रातदिन मोबाइलमा भुल्न थाले। समिक्षालाई पनि छोरा घरमै भुलेपछि ढुक्क भयो। ‘मैले त्यही मोबाइलमा इ–सेवा लिएकी थिएँ। सोझो बच्चाले केही गलत गर्ला भन्ने सोचिएन’, उनले भनिन्, ‘खातामा रहेको रकम घट्दै गयो। कसरी रकम घट्यो भनी इ–सेवामा गएर जाँच गर्दा छोराले मोबाइलमै रकम राखेर खेल्ने रहेछ भन्ने थाहा भयो।’

छोराले मोबाइलको गतल प्रयोग गरेको थाह पाएपछि उनी छाँगाबाट खसेजस्तै भइन्। ‘त्यसपछि पारिवारिक सल्लाह गर्‍यौँ, मोबाइलमा सामाजिक सञ्जाल तथा युटुव चलाउने निश्चित समय तोक्यौँ’, उनले भनिन्, ‘यसमा नजानेरै पनि मानिस गलत प्रयोगको शिकार हुनसक्छ भनी सचेत भएका छौँ ।’

शिक्षक पूर्ण विक बालबालिकालाई मोबाइलजस्ता प्रविधिको प्रयोग गर्न दिँदा अभिभावक उनीहरु गलत प्रयोगको शिकार हुनसक्छन् भनी सचेत हुन आवश्यक रहेको बताउँछन्। ‘धेरै नानीबाबु यसरी प्रविधिको गलत प्रयोग गरेर गलत बाटोमा लाग्न सक्छन्, बालविवाहको शिकार हुनसक्छन्’, शिक्षक विक भन्छन्, ‘प्रविधिको ज्ञान लिनु राम्रो हो तर यसको सही प्रयोग र गलत प्रयोगबारे पनि सिकाउनुपर्छ । किशोरावस्थाका नानीबाबुलाई निगरानी गर्नुपर्छ।’

शिक्षक विक अभिभावक आफैँ मोबाइल तथा इन्टरनेटमा भुलेमा छोराछोरीले पनि त्यही सिक्ने भएकाले अभिभावक सचेत बन्नुपर्ने सुझाव दिन्छन् ।

समाजशास्त्री शिवचरण चौधरी प्रविधिमा हराउँदा पारिवारिक एकता एक्लिन सक्नेमा सचेत हुन जरुरी रहेको बताउँछन्। ‘आर्थिक प्रगती गर्न र पारिवारीक समस्या समाधानका लागि सल्लाह आवश्यक हुन्छ। पारिवारीक सल्लाह नहुने घरमा शान्ति पनि हुँदैन’, समाजशास्त्री चौधरीले भने, ‘परिवारका लागि समय व्यवस्थापन गर्न सक्नुपर्छ । प्रविधिको सही सदुपयोग गर्नु राम्रो पक्ष हो तर परिवारबाट टाढिने गरी हुने प्रयोग रोक्नुपर्छ।’ रासस

Logo