बुटवलमा जितगढी–बटौली युद्ध सङ्ग्रहालय बन्दै

बुटवलमा जितगढी–बटौली युद्ध सङ्ग्रहालय बन्दै


रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृतिक शहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी युद्ध सङ्ग्रहालयको निर्माण शुरु गरिएको छ।

ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अङ्ग्रेजयुद्ध ताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको जितगढी–बटौलीयुद्ध सङ्ग्रहालयको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुधबार शिलान्यास गरे। राष्ट्रिय स्वाभिमान, पहिचान र शानका रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा समेत लिइँदै आएको छ। सो अन्तर्गतको एउटा महत्वपूर्ण कामका रुपमा सङ्ग्रहालयलाई लिइएको उनले बताए। प्राचीन शहरले जन्माएका सबै उपशहरलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने जनाउँदै उनले बुटवल चक्रपथ, तिनाउ–दानब कोरिडोर र छिमेकिका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए।  

उपमहानगरपालिकाले बनाएको एकीकृत शहरी विकास गुरुयोजनामा रहेको पर्यटनअन्तर्गत उक्त सङ्ग्रहालय छ। बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि आवधिक र दीर्घकालीन महत्वका योजना तय गरिएका छन्। अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत शहरी विकासको गुरुयोजना बनाइएको छ। वडा नं १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगरको करीब तीन कट्ठा जग्गामा उक्त सङ्ग्रहालय बन्नेछ। सङ्ग्रहालय चार तलाको बन्नेछ। पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाका परिकारसमेत पाइने गरी क्याफे रहनेछ।

यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनो राखिएको सोभिनियर शप रहनेछ। करिब रु छ करोड ८२ लाख ५० हजार २५६ बराबरको लागतमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो। निर्माण कार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता गरिएको थियो।

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इञ्जिनीयर प्रभाकर लामिछानेले तोकिएको समयअगावै निर्माण सक्ने गरी काम गरिने प्रतिबद्धता जनाए। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले निर्माणका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने जनाउँदै निर्माण कम्पनीको प्रतिबद्धताको सराहना व्यक्त गरे। रासस

Logo