चितवनमा मौरीबाट उपचार गर्ने केन्द्र स्थापना गरिँदै

चितवनमा मौरीबाट उपचार गर्ने केन्द्र स्थापना गरिँदै


पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम सुरुआत गरिएको छ। मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम सुरु गरिएको हो।
 
प्रदेश सरकारको पाँच लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिनेछ। अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा शिव रिजालले जानकारी दिए। उनले भने, “अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ ।” केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिनेछ ।
 
सो भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ। यस केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिनेछ । रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्नी, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ। रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने उनले बताए।
 
उनले भने, “मौरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ।” नेपालमा मौरी र मौरीको उत्पादनबाट उपचार गर्ने केन्द्र काठमाडौँमा रहेको भन्दै उनले यसको विस्तार गर्न सकेमा मौरी पर्यटन विकास गर्न सकिने जानकारी दिए। मौरीलाई टोकाएर र मौरीको घारमाथि विस्तारा बनाएर सुत्दा मानसिक रोगको उपचार गर्न सकिने बताइएको छ। 
 
प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि सौराहामा एपि थेरापी केन्द्र स्थापना गर्ने भनेको भए पनि सो स्थानमा व्यवस्थापनमा कठिन परेपछि भण्डारामा स्थापना गरिएको हो। मौरीपालक कृषकलाई मह उत्पादन मात्र नभएर मौरीको विभिन्न परिकार उत्पादनका लागि मद्दत पुग्ने उद्देश्यले यो केन्द्र स्थापना गर्न लागिएको हो।
 
मौरीबाट उत्पादन हुने शाही खुराक, पोलन, कुट, मौरी विषलगायतका अन्य उत्पादनबाट विभिन्न रोगको उपचार हुने भएकाले यी वस्तु उत्पादनमा जोड दिन केन्द्र सञ्चालन गर्न लागिएको उनले बताए।रासस

Logo