प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले संक्रामक महामारी नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ ।
कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले आज समिति समक्ष आफ्नो प्रतिवेदन पेस गर्दै प्रत्येक अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्चित शैय्याको एकाइ व्यवस्था गर्न सुझाव दिएको हो ।
कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न सरकारले चालेको कदमको स्थलगत अनुगमन तथा निरीक्षण गरी उपसमितिले १८ बुँदे सुझाव समितिसमक्ष पेस गरेको हाे ।
निजी तथा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउनुपर्ने र भएका प्लान्ट चालू अवस्थामा राख्ने, संक्रामक तथा अन्य रोग बारे जनचेतना विकासको अभियान सञ्चालन गर्ने, दुर्गम र सुगम क्षेत्रमा फरक स्वास्थ्य सेवा सम्बन्धी नीति तर्जुमा गर्ने, चिकित्सक बढुवा प्रणालीमा सुधार तथा अस्पतालमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न उपसमितिले सुझाएको छ ।
खुला सीमा भएका ठाउँमा संक्रामक लगायत रोगसम्बन्धी जाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था र स्थानीय तहअन्तर्गत सबै अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्पष्ट नीति ल्याउन पनि उपसमितिले सुझाव दिएको छ ।
प्रतिक्रिया