प्रधानमन्त्रीलाई हटाउन कांग्रेस अघि बढ्दा जसपामा ‘मतभेद’

प्रधानमन्त्रीलाई हटाउन कांग्रेस अघि बढ्दा जसपामा ‘मतभेद’


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा 'सरकार गठनका लागि पहल गर्ने' औपचारिक निर्णय गरे लगत्तै धेरैको चासो जनता समाजवादी पार्टी (जसपा) को भूमिकाप्रति बढेको छ।

नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने सङ्केत सार्वजनिक रूपमै दिँदै आएको छ। उक्त दलका अध्यक्ष प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने पनि बताएका छन्।

तर त्यसको निम्ति नेकपा एमाले एकताबद्ध रहँदासम्म कांग्रेस र माओवादी केन्द्रलाई जसपाको साथ र समर्थन अनिवार्य देखिन्छ। अर्थात् जसपा भूमिका निर्णायक बन्ने अवस्था बनेको पाइन्छ।

नयाँ सरकार गठनलाई लिएर दुईथरी धार रहेको भनिएको उक्त दल अब त्यसबारे खुल्नुपर्ने अवस्था आउने देखिन्छ। जसपाका दुई नेताको धारणा भने फरक-फरक पाइएको छ।

कांग्रेसलाई हाम्रो साथ: यादव

जसपाका एक अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको बिदाइ आफूहरूको पहिलो लक्ष्य भएको बताए। कांग्रेसले अविश्वास प्रस्ताव ल्याएमा समर्थन गर्ने बताउँदै उनले भने, "कांग्रेसको नेतृत्वमा सरकार बन्छ भने हामीले त्यसको स्वागत गर्छौँ।"

जसपाका विभिन्न मागहरूबारे सरकारसँग उसको शृङ्खलाबद्ध छलफल जारी छ।

यादवले त्यो सरकार बनाउने वार्ता नभएको उल्लेख गर्दै जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरू रिहा र मुद्दा खारेज हुनुपर्ने बताए।

ती माग पूरा गरे पनि ओलीको सरकारलाई समर्थन नगर्ने दृढता व्यक्त गर्दै यादवले भने, "तर त्यसको सट्टा केपी ओलीसँग राजनीतिक रूपले सती जाने कुरा आउँदैन।"

हामी सत्ताको खेलमा छैनौँ: महतो

अर्का नेता राजेन्द्र महतोले भने पार्टीले उठाउँदै आएका मागहरू पूरा गराउने कुरालाई आफूहरूले प्राथमिकतामा राखेको बताए। उनले भने, "हाम्रा मुद्दा र मागको सम्बोधन गराउने प्रयासमा तीनवटै दलसँग कुरा गरिरहेका छौँ, हामी सत्ता समीकरणको खेलमा छैनौँ।" 'कुनै सरकारलाई समर्थन गर्ने विषयमा पार्टी निर्णय अनुसार हुने' उनको भनाइ छ।

तर कांग्रेसले निर्णय गरिसकेको सन्दर्भमा पार्टी बैठक आयोजनाबारे जिज्ञासा राख्दा उनले जबाफ दिए, "सत्ता समीकरण हाम्रो प्रमुख एजेन्डा होइन, हामीलाई के हतार भयो र?"

जसपाकै अर्का नेता बाबुराम भट्टराईले पहिलेदेखि 'जतिसक्दो छिटो ओली सरकारलाई बिदा गर्नुपर्ने' मत सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन्।

जसपामा एकमत होला?

उनले कांग्रेसको पछिल्लो निर्णयको प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, "अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौँ, आजको दिनमा मुख्य प्राथमिकता ओलीको बिदाइ नै हो है!"

तीनवटा विपक्षी दल एकमत रहेमा नयाँ सरकारको निम्ति बहुमत पुग्छ।

कतिपयले जसपामा विभाजन आउन सक्ने वा प्रधानमन्त्रीसँग नजिक हुँदै गएका भनिएका महन्थ ठाकुर र महतो पक्ष बलियो हुँदा पार्टीमा भट्टराई र यादव पक्षको जोड नचल्ने अडकल गरेको पनि पाइन्छ।

पार्टीमा एकमत नहुने सम्भावनाबारे अध्यक्ष उपेन्द्र यादव भन्छन्, "अहिलेसम्म त कुनै असहमति वा केपी ओलीसँग सती जाने कोही देखिएको छैन।"

जसपामा विभाजन देखिएमा भने प्रधानमन्त्री ओलीकै दल नेकपा एमालेभित्रको विवादले कुन रूप लिन्छ भन्ने कुराले सत्ता समीकरणलाई प्रभावित गर्ने ठानिएको छ।बीबीसीबाट

Logo