ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट : एपीएफको अपराजित यात्रा कायमै

ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट : एपीएफको अपराजित यात्रा कायमै


पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जीत निकालेको छ। टियु क्रिकेट मैदानमा आइतबार सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जीत निकालेको हो।

एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो । सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाइन् । यस्तै डोली भट्टले १६ रन जोड्दा रेवती धामीले १२ रन बनाइन्।

सुदूरपश्चिमका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकिनन् । एपीएफकी बिनु बुढाले ३ विकेट लिइन् । यस्तै सीता राना मगर र सुमन विष्टले २/२ विकेट तथा रेखा रावल र शुष्मा श्रेष्ठले एक एक विकेट लिइन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो।

एपीएफका लागि ज्योति पाण्डेले ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै सरिता मगरले अविजित ३५ रन जोड्दा इन्दु बर्मा ४ रनमा अविजित रहिन् । कप्तान सरिता राना मगर १६ रनमा आउट भइन् । सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १/१ विकेट लिइन्।

जीतसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफले पहिलो खेलमा प्रदेश–१ लाई ८ विकेटले हराएको थियो । सुदूरपश्चिमको यो पहिलो हार हो । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ७ विकेटले हराएको थियो।

Logo