२५ जनाभन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

२५ जनाभन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो। मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। 

प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए। अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमणदर पनि बढेर गएकाले सावधानी अपनाउनु पर्ने बेला आएको बताए। 

उनले भने, ‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ। एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जनाभन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ। त्यो पनि अब कति दिनपछि नगर्नुस भन्नु पर्ने अवस्था आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड, ठूलाठूला ग्यादरिङहरु सबै बन्द गर्नु पर्छ भनेर हामीले भनेका छौं। यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु। अहिले छिटपुट रुपमा कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गयो। अस्पतालमा आइसियुमा विरामीहरु धेरै नै भर्ना भइसकेका छन्। त्यसबाट के बुझिन्छ भने अब कोरोनाको ग्राफ उकालो लाग्यो। अब बढ्न थाल्यो। अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ।’

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नु पर्ने अवस्था आइसकेको पनि बताए। त्यसका लागि भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनु पर्ने बताए। यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताए। 

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा सङ्कास्पद देखिएका विरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवस्थापन गर्ने कार्यलाई तिब्रता दिएको पनि प्रवक्ता गौतमले बताए। 

पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको पनि प्रवक्ता गौतमले जानकारी दिए। त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै विरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको उनको भनाइ छ। 

गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौताले बताए। गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा नभएको तर यसपटक औषधि भन्दा पनि अक्सिजन र रोगसँग लडनुपर्ने अन्य सामग्रीहरुको जोहो गर्नु पर्छ भन्ने थाहा भएकोले सोही अनुसारको तयारी गरिएको बताए।

Logo