नवराज विकसहित ६ जनाको हत्या घटना मुद्दा : सर्वोच्चमा सुनुवाइ जारी

नवराज विकसहित ६ जनाको हत्या घटना मुद्दा : सर्वोच्चमा सुनुवाइ जारी


रुकुम पश्चिमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या घटनासम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले पेशी तोकेको छ।

न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको हो।

जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतको फैसलाविरुद्ध गत मंसिर २६ र फागुन ९ गते सर्वोच्चमा मुद्दा परेको थियो।

घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहरिएकाहरूले फैसला बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन्।

मुद्दा दर्ता गराउनेहरू सौरभ पुन, मोहन पुन मगर, सन्तोष मल्ल, भीमबहादुर पुन, विनोद मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (१), परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) रेशमबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, डम्बरबहादुर मल्ल र तिलक चन्द हुन्।

विराज पुन मगर, टोपबहादुर मगर, मानबहादुर मल्ल, धनराज राना, रमित पुन मगर, सर्वजीत भन्ने सविन पुन, नवीनकुमार घर्ती मगर र नेत्रबहादुर मल्लले पनि अदालतले गरेको फैसलाविरुद्ध मुद्दा दर्ता गराएका छन्।

१० जेठ २०७५ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को सोती गाउँमा निर्ममतापूर्वक नवराज विकसहित गणेश बुढामगर, संजीव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार,  गोविन्द शाही र रुकुम चौरजहारी–१ का टीकाराम नेपालीको हत्या भएको थियो। 

नवराजले आफ्नी प्रेमिका लिन साथीहरूलाई लगेका थिए। तर प्रेमिका ल्याउन असफल उनीहरूको भेरी नदी क्षेत्रमा प्रेमिकाको परिवार र गाउँलेहरूले लखेट्दै कुटेर हत्या गरिदिएका थिए। नवराजकी प्रेमिका मल्ल थरकी हुन्। 

Logo