भूकम्पमा बाइस घण्टापछि उद्धार गरिएका सनिस अवालेको ‘आर्मी’ सपना ! (भिडियाेसहित)

भूकम्पमा बाइस घण्टापछि उद्धार गरिएका सनिस अवालेको ‘आर्मी’ सपना ! (भिडियाेसहित)


सनिस अवाले, २०७२ सालको विनासकारी भूकम्पमा २२ घण्टासम्म पुरिएर जीवित उद्धार गरिएका नाबालक हुन् । जति बेला उनी चार महिनाका थिए। आज भूकम्प गएको ६ वर्ष पूरा भएको छ, अनि सनिसले पुनर्जन्म पाएको पनि ६ वर्ष नै। 

२०७२ साल वैशाख १२ गतेको महाभूकम्पको सम्झना नभएका नेपाली कमै होलान्। त्यसमा पनि एउटा तितो अनुभव र अमिलो सम्झना बोकेको परिवार हो अवाले परिवार। भक्तपुर मूलढोकास्थित चारतले माटोको पुरानो घर हेर्दाहेर्दै भूकम्पले क्षतविक्षत बनायो। घरमा सुतिरहेका चारमहिने नाबालक सनिस अनि टेलिभिजनसँग रमाइरहेकी उनकी दिदी सनिसा क्षणभरमै त्यही धुलाम्मे भत्किएको घरमा पुरिए। ‘त्यो कहालीलाग्दो दिन फेरि कहिल्यै नदोहोरियोस्’ आमा रश्मिला अवाले भगवानसँग प्रार्थना गर्छिन्।

गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको महाविनासकारी भूकम्पले हजारौंको घर भत्काइदियो। पारिवारिक साथ अनि भौतिक खुसी लुटेर गयो। तर, भाग्यवश अवाले परिवारले आफ्ना कोपिलाजस्ता नाबालक गुमाउनु परेन। घरको भग्नावशेषमा पुरिएकी छोरी सनिसाको तीन घन्टापछि उद्धार गरियो, अनि छोरा सनिसको २२ घन्टापछि मात्र।

छोरी सकुशल उद्धार भइन् तर, चार महिनाको छोरा सनिस भग्नावशेषको कुनै एक कुनामा क्याँरक्याँर रोइरहेका हुन्थे। आमा रश्मिला त्यो सुनिरहेकी हुन्थिन्। उनको मन भक्कानिन्थ्यो। कहिले नेपाल आर्मीसँग त कहिले भगवानसँग छोरोको सकुशल उद्घारको भिख मागिरहिन् उनले। 

आमा रश्मिलाले जस्तै उद्धारमा खटिएका स्थानीय, नेपाल आर्मीसहितको टोली पनि त्यसबारे जानकार थिए। तर, त्यो दिन सनिसको उद्धार सम्भव भएन। बैशाख १२ गते राति ११ बजेसम्मको प्रयासले पनि चार महिने नाबालकको उद्धार हुन सकेन। 

भूकम्पको पराकम्पले सिंगो देश त्रसित थियो, उद्धारकर्ता थकित थिए। भग्नावशेषको कुनै एक कुनाबाट निरन्तर आउने क्वार, क्वार आवाज अब हुक्क हुक्कमा पुगेको थियो। 

तर, नाबालक छोराप्रतिको मातृत्व प्रेम रश्मिला दम्पतीमा झन् बढ्दै थियो। कतिबेला उज्यालो होला अनि छोराको उद्घार होला, त्यो पर्खाई अनि छटपटी आज पनि आमा रश्मिलाको मस्तिष्कमा घुमिरहन्छ। 

१३ गतेको सूर्योदयसँगै उद्धार टोली खटियो। एकातिर, छोरो जिउँदै भेटियोस् भन्दै अवाले दम्पतीले भगवानसँग निरन्तर प्रार्थना गरेका थिए। अर्कातिर ‘बाबु जिउँदो छैन अब त,’ स्थानीयको अड्कलबाजी चलिरहेको थियो। 

अन्ततः २२ घण्टाको अन्तरालपछि नेपाली सेनाको उद्धार टोलीले चारमहिने नाबालक छोरा सनिसलाई सकुशल उद्धार गर्यो । घर त सबैका ढलेका थिए, दुई सन्तानको सकुशल उद्धार भएपछि अवाले परिवारको मन भने ढलेन। त्यो खुसी आज पनि आमा रश्मिलामा प्रत्यक्ष देख्न सकिन्छ।

भत्किएको घरमा पुरिएर तीन घण्टापछि उद्धार गरिएकी छोरी सनिसा आज कक्षा ९ मा अध्ययनरत छिन् भने, २२ घण्टाको अन्तरालपछि उद्धार गरिएका नाबालक छोरा सनिस कक्षा १ मा पढ्दैछन्। छोराले दोस्रो जन्म पाएकोमा बुबा श्यामा र आमा रश्मिला खुसी छन्। अझ छोरामा शारीरिक र मानसिक दुवै रूपमा चञ्चलता अनि तीक्ष्ण व्यवहार देख्दा झनै दंग देखिन्छन्। 

चञ्चल स्वभावका सनिस उमेरले ७ वर्ष लागे। उनको वालमनोविज्ञानले भविष्यमा आर्मी बन्ने सपना देखेको छ। ‘खै खाली आर्मी बन्छु भन्छ।’ छोराले सधैं भनिरहने वाक्यांश सुनाउँदै आमा रश्मिला पनि फिस्स हाँस्छिन्।

छोराछोरीले पुनर्जन्म पाए, त्यसप्रति अवाले परिवारमा कुनै गुनासो छैन। तर, भूकम्पले लडाएको घर उठ्न सकेको छैन। आफ्नै घरमा बस्दै आएको अवाले परिवार आज डेरामा छ। घर भत्किएपछि भएको जग्गा पनि सडक मापदण्डले खायो। ‘सबैले राहत पाए, तर हामीले केही पाएनौं, सरकारले घर बनाइदिन्छ रे भन्ने सुनेको हो। तर, ६ वर्षसम्म सरकारले खवरसम्म सोधेको छैन,’ अवाले परिवार दुःख बिसाउँछन्।

भूकम्पपीडितलाई सहयोग गर्ने भन्दै धेरै संघ–संस्था खुले, तर ती कुनैले पनि अवाले परिवारको खबरसम्म सोधेनन्। हेर्न आए, सहानभूति पोखे, कतिले फोटो अनि भिडियो खिचे तर, सरोकारवालासम्म उनीहरूको आवाज पुगेन। उनीहरू यही गुनासो पोख्छन्। 

भूकम्प गएकै वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमै अवाले परिवारको भेट भएको थियो। त्यो पनि प्रधानमन्त्रीकै चाहनामा। त्यसबेला प्रधानमन्त्रीले पनि खुब चासोका साथ हेर्छु भनेर आश्वासन दिएका थिए। तर, आजसम्म केही नहुँदा  प्रधानमन्त्रीप्रति उनीहरुको विश्वास नै गुमिसकेको छ। तथापि, त्यो आश्वासनको आशा भने उनीहरूको मनमा धिपधिपाइरहेको छ।

Logo