उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द (भिडियो)

उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द (भिडियो)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि बन्द हुने भएका छन्। कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला अधिकारीहरूको बैठकले यस्ता निर्णय गरेको हो। यस्तै मास्क नलगाई हिड्ने व्यक्तिलाई जरिवाना गर्न पनि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ। यसैगरि आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले कोरोना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहको परीक्षा स्थगन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ।

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर एफसीले धनगढी एफसीमाथि सानदार जित निकालेको छ। विराटनगरले धनगढी एफसीमाथि ३–० को सानदार जित निकालेको हो। यस्तै आजै पोखरा थन्डर्सले बुटवल लुम्बिनीसँग प्रतिस्पर्धा गरेको छ। यस खेलमा बुटवल लुम्बिनीले पोखरा थन्डर्समाथि जीत निकालेको छ। 

साताको पहिलो दिन आइतबार शेयर बजारमा कारोबारमापक नेप्से परिसूचक  ७५.७९ अंकले गिरावट आएको छ। शेयर बजार बढेर हालसम्मकै उच्च २७३५ अंकमा पुगेर बजारले करेक्सनको बाटो समाते पनि आइतबार एकाएक भारी अंकले गिरावट आएको हो। बिहीबार बजार १५.८ अंकले बढेर नेप्से परिसूचक २६४८ अंकमा पुगे पनि आइतबार ७५.७९ अंकले घटेको हो। शेयर बजार घट्नुमा कोरोना महामारी प्रमुख कारणका रुपमा लिइएको छ।

गत वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध प्रदेश सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि सोमबारदेखि सञ्चालन हुने विशेष अधिवेशनमा छलफल हुने भएको छ। गण्डकी प्रदेशमा नेपालपक्षीय तीन जना सांसदहरूले ‘फ्लोर क्रस’ गरे गुरूङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्ने सम्भावना छ। तर, त्यहाँ नेपालपक्षीय कति सांसद छन्? सङ्ख्या स्पष्ट भइसकेको छैन। 

नेकपा एमालेले कोभिड १९ विरुद्धको लडाईंमा सिंगो पार्टीलाई परिचालन गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको १० औं महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकले पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला, नगर, गाउँदेखि सबै जनवर्गीय संगठनहरूलाई तत्काल परिचालन गर्ने निर्णय गरेको हो। यसैगरि आजको बैठकले प्रदेश तथा केन्द्र सरकारमा अविश्वासको प्रस्ताव विपक्षी दलहरूबाट आउने अवस्था रहेको र पार्टीका निलम्वित नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले फ्लोर क्रस गर्ने सम्भावनाबारे छलफल गरेको प्रवाक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

Logo