जब ढलेको धरहरा देखेँ, नयाँ डिजाइन बनाउने हुटहुटी जाग्यो

जब ढलेको धरहरा देखेँ, नयाँ डिजाइन बनाउने हुटहुटी जाग्यो


भूकम्पले ढालेको धरहरा बनेपछि वरिष्ठ आर्किटेक्ट इन्जिनियर विष्णु पन्थी युगीन महत्वको काम गर्न पाएको भन्दै हर्षित छन्।

उनले गरेको काम हो–धरहराको आर्किटेक डिजाइन। 
२०७२ साल वैशाख १२ गते गएको भूकम्पले धरहरा ढालेको थियो। पहिलेको स्वरुपमा पुरातात्विक सम्पदाको झल्को आउने र आधुनिकता देखिने धरहरा बनाउनु चुनौती थियो।

धरहरा डिजाइन तयार गर्ने हुट्हुटी उनमा त्यतिबेला भयो, जतिबेला धरहरा ढलकै दिन उनी त्यस ठाउँमा पुगे।

उनले सोचे–डिजाइनको जिम्मा पाए गर्छु। नभन्दै पुरातत्त्व विभागले सोही वर्ष धरहरा पुनःनिर्माणका लागि कन्सल्टेन्ट आह्वान गर्याे।

कैयौं कन्सल्टेन्सीले आवदेन दिए। अन्ततः सिएजिई र एमआरबी जोइन्ट भेन्चर कन्सल्टेन्सीका रूपमा छनोट पर्याे।

सिएजीइका प्रमुख हुन् पन्थी। रुसको बेलारुसस्थित बेलारुस पोलिटेक्निक इन्स्टिच्युटबाट सन् १९९६ मा आर्किटेक इन्जिनियरिङमा मास्टर्स इन डिग्री हासिल गरी स्वेदश फर्किएका हुन्।
उनकै नेतृत्वमा धरहराको आर्किटेक डिजाइन तयार भएको हो। इन्फ्रास्टक्चर डिजाइन चाहिँ एमआरबीले गरेको हो। 

धरहराको आर्किटेक डिजाइनर पन्थी यसरी अनुभव सुनाउँछन्–
जतिबेला भूकम्प गयो। धरहरा ढल्यो। म दुःखी भएँ। मुगल आर्किटेकमा बनेको थियो पुरानो धरहरा। त्यसको छुट्टै विशेषता थियो।

एकजना सिनियर आर्किटेक्ट इन्जिनियर भएको नाताले त्यसै दिन हेर्न गएँ र मनमा लाग्यो–धरहरा उभ्याउन ‘प्रोजेक्ट’ पाइयो भने गर्छु। देशका लागि त्यो काम गर्छु भन्ने हुट्हुटी भयो।
ठूलो भुकम्पपछि पनि पराकम्प गइरहे। अलिक मत्थर भएपछि पुरातत्व विभागले धरहरा पुनःनिर्माणका लागि ‘कन्सल्ट्यान्ट’ आह्वान गर्याे। गर्नुपर्ने काम चाहिँ धरहराको डिजाइन।
हामी सहभागी भयौं। धेरै संस्थाले प्रतिस्पर्धा गरेका थिए। आखिर हामीले पायौं। प्राविधिक र आर्थिक पक्षकै कारण होला सायद। 

अनि धरहराको डिजाइन गर्नुपर्ने पाँच रोपनी जग्गामा हो। धरहराको आधार क्षेत्र (भुइँ) मा पार्किङ बनाउने सोच विभागको रहेछ। काठमाडौं महानगरका मेयरदेखि हाम्रो पनि धरहरा क्षेत्रमा हुँदै आएको पार्किङ समस्या समाधानका लागि त्यही क्षेत्रमै पार्किङस्थल बनाउनुपर्छ भन्ने थियो।

मलाई पहिलेदेखि युगौंयुग सम्झनालायक केही काम गरौं भन्ने थियो। सौभाग्यवश जिम्मेवारी पाइयो।

त्यसपछि ‘साइड एनालाइसिस’ गरेँ। टक्सार विभाग, गोश्वारा हुलाकलगायत सरकारी कार्यालयलाई यही मौकामा लिन सक्यौं भने आसपासका मानिसलाई भुकम्पको बेला बस्न खुला ठाउँ हुने सोचेँ।

फेरि, ‘ल्यान्डमार्क’ एकदम राम्रो छ। भीमसेन थापालाई जो–जो तत्कालीन प्राविधिकले धरहराको डिजाइन दिए, उहाँहरूमा दूरदर्शीता थियो।

मैले डिजाइनको ‘एनालिसिस’ गर्दा त्यो पाएँ। सिंहदरबारको इन्ट्री प्वाइन्टको सेन्ट्रल लाइन र शहीद गेटको सेन्ट्रल लाइनसँग धरहराको सेन्ट्रल लाइन एउटैमा पर्दोरहेछ।

दिमागमा के आयो भने एउटै लाइनमा यी संरचना भए सुन्धारालाई सेन्ट्रल प्वाइन्ट मानेर धरहराको सेन्ट्रल प्वाइन्ट र सुन्धाराको धारा मात्रैको सेन्ट्रल प्वाइन्टलाई आधार मानेर ‘राइट एङ्गल’ बनाइयो भने राम्रो हुने निष्कर्ष मेरो रह्यो।

र, पुरातत्व विभागमा गएर कुरा गरेँ। तत्कालीन महानिर्देशकले ठीक छ भन्नुभयो। पर्यटनमन्त्री हुनुहुन्थ्यो–आनन्द पोखरेल। उहाँले अति सहयोग गर्नुभयो। मैले बुझाएको ‘प्रपोजल’ एकदमै राम्रो भन्नुभयो। उहाँले तपाईंले बनाएको प्रपोजलअनुसारको संरचना युगौंगुगसम्म टिक्छ भन्नुभयो।

अन्ततः उहाँले नै प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ लाने कुरा गर्नुभयो। मैले धरहराको डिजाइनबारे ‘प्रेजेन्टेसन’ तयार गरें। तत्कालीन पर्यटन सचिव चाहिँ प्रेमकुमार राई हुनुहुन्थ्यो।

उहाँले सहयोग पुग्ने कुरा गर्नुभयो। उहाँले, ‘ओहो ! यति राम्रो छ प्रपोजललाई कार्यान्वयन गर्नुपर्छ’ भनेर जोड गर्नुभयो। म खुसी भएँ।

फेरि पहिलेको धरहराको डिजाइन पनि वैज्ञानिक ढंगकै रहेछ। को–को इन्जिनियर थिए त्यो त थाहा भएन।

धरहराको तलाहरू एउटै लाइनमा ‘ट्याप्ड’ भएर गएको रहेछ। भर्याङ रहेछ। म त पुरानो धरहराको भित्र गएको थिइनँ।

त्यसलाई आधार मानेर अब बन्ने धरहरा कमसेकम समयसापेक्ष हुनुपर्छ भन्नेमा म थिएँ। त्यही भएर धरहरामा दुईवटा ‘लिफ्ट’ राख्ने अवधारणा आयोे। आकस्मिक घटना केही भए उद्घारमा सहयोग हुन्छ भनेर।

यो सम्भावित संरचनासहितको ‘प्रेजेन्टेसन’ तयार गरेँ। त्यसबेला प्रधानमन्त्री ओलीले एउटा नारा नै लिनु भएछ– ‘मेरो धरहरा, मै बनाउँछु।’

त्यसबाट हामी निक्कै प्रभावित भयौं। त्यसपछि म, मन्त्री पोखरेलदेखि विभागका महानिर्देशक दाहाल सर गयौं प्रधानमन्त्रीलाई भेट्न। दुई घन्टाजति प्रेजेन्टेसन भयो।

उपप्रधानमन्त्रीसहित मन्त्रीहरू हुनुहुन्थ्यो। उहाँहरूले यस्तो बन्ने हो भने के–के सहयोग गर्नुपर्छ भनेर भन्नुभयो।

मैले केही कुरा राखेँ। मन्त्री पोखरेल एक्सनमा गइहाल्नुभयो। राति ११ बजे बोलाएर प्रधानमन्त्रीज्यूले निर्णय गरिदिनुभयो कि तपाई नेतृत्वको कन्सल्टेन्सीले बनाउनू भनेर।
उहाँले भन्नुभयो, ‘गो अहेड’। लगत्तै डिजाइन तयार गर्याैं । दुईवटा कम्पनी सिएजीई र एमआरबीले लिएको हो।

धरहराको डिजाइन तयार गर्ने हुट्हुटी उनमा त्यतिबेला भयो, जतिबेला धरहरा ढलेकै दिन उनी त्यस ठाउँमा पुगे

एमआरबीले इन्फ्रास्टक्चरको पाटो हेर्याे। आर्किटेक्चरललगायत मेरो पाटोमा पर्याे। यसरी हामीले साझेदारीमा डिजाइन पूरा गर्याैं।

फेरि हामीलाई धरहरा जस्तो थियो, त्यस्तै बनाउनुपर्छ भन्ने पनि प्रधानमन्त्रीको निर्देशन थियो।

तर, हाम्रो सिर्जनशीलता पनि लगाउने भन्ने थियो। हामीले त्यसबेला ठानेको के भने यो मुगल आर्किटेक्टअनुसार बनेको संरचना हो। अर्थात् मुगल थ्योरीमा आधारित रहेर बनाइएको हो।
त्यसलाई नै आधार मानेर भूकम्पप्रतिरोधी संरचना बनाउनुपर्छ भन्ने भयो। जरुरत ठानिएका केही संरचना पनि थप्यौं। 

कम्तीमा ‘नेचर इफेक्ट’ होस् है धरहरामा भन्ने भयो। अनि सुन्धारालाई कसरी संरक्षण गर्ने? सुन्धारासँग धरहराको सम्बन्ध कसरी जोड्ने? वर्षौंसम्म टिक्नुपर्ने संरचना भएकोले त्यसको दिगोपना कसरी? फेरि ऐतिहासिक सम्पदा भएकोले त्यहाँ संग्रहालय कसरी बनाउने भन्ने थियो।

सोहीअनुसार डिजाइन बनायौं। नयाँभन्दा पनि पुरानो चीज स्थापित गर्न सक्यौं।

पछि राष्ट्रिय पुनर्निर्माण प्राविधिकरणले रेखदेखको जिम्मेवारी पायो। अझै केही संरचना निर्माण हुन बाँकी छन्।

धरहराको आकृति, आकार र देखावटीमा समानता छ। असमानता चाहिँ पहिले इँट्टाले बनेको थियो। अहिलेको कंक्रिटले बनेको छ। त्यति फरक हो। खासै फरक छैन।

सुरक्षाको दृष्टिकोणले हेर्दा बलियो छ। धरहराको ‘बेसमेन्ट’ बाट चढ्न सकिने अवस्था छ। पार्किङ राम्रो छ। संग्रहालय बनाइएको छ। ऐतिहासिक ठाउँ पनि हो।

धरहराको १८ औं तलामा ‘मिनी थिएटर’ छ। त्यहाँ धरहराबारे डकुमेन्ट्री छ।
धरहराको डिजाइन भवनसंहिताको आधारमा भएको छ। त्यसो भएकाले भूकम्पीय दृष्टिकोणले पनि धरहरा सुरक्षित छ भन्ने लागेको छ।

नजिकै रहेको धरहराको भग्नावशेष संरक्षण गर्ने भएका छौं। धरहरा ढल्दा दिवंगत भएकाहरूको पहिचान दिने गरी चिनारी राख्ने भनेर डिजाइन गर्ने सोच छ। त्यसबारे ‘वर्कआउट’ भइरहेको छ। 

Logo