अन्त्येष्टिका सारथी ‘रामप्रकाश’

अन्त्येष्टिका सारथी ‘रामप्रकाश’


जन्ती जान निम्तो हुन्छ
तर, मलामी जान निम्तो हुँदैन।

गुरुङ रामप्रकाश ‘समथिङ’ लाई यस्तो लाग्छ। त्यही भएर मृत्यु खबर सुनेपछि जसरी मलामी जान्छन् उनी। मृत्यु संस्कारमा सहभागिता अनिवार्य ठान्छन्। 

२०५३ वैशाख १ गतेदेखि यही वैशाख ११ गतेसम्म उनी ४५२ जनाको मलामी गएका छन्। अर्थात् निरन्तर मलामी गएको २५ वर्ष भयो।

पछिल्लो पटक शनिबार उनी १९ वर्षीय पासाङ शेर्पाको मलामीमा सहभागी भए। मृतक पासाङ ताप्लेजुङका हुन्। 

मृत्युको खबर पाएपछि मलामी जान गुरुङ छुटाउँदैनन्। जानु मानवीय धर्म पनि हो। गुरुङ चाहिँ पाँचथरको फिदिमका हुन्। २/४ घण्टाको दूरीमा मलामी पुग्छन् नै।

फेरि मलामी मात्रै जाने होइन उनी। मृतकलाई चिहानडाँडा वा घाटसम्म पुर्याउन चाहिने ‘खट’ बनाउँछन्। बनाउन सहयोग गर्छन्।

दीन दुःखीको मृत्यु भए आवश्यक परेको अवस्थामा कात्रो किन्न पनि सहयोग गर्छन्। घाटमा चित्ता बनाउन सहभागी हुन्छन् र शव खरानी भएपछि मात्रै फर्किन्छन्।

यसरी जीवनको अन्तिम संस्कार (शवको अन्तेष्टी) मा उनी अनिवार्य सहभागी हुन्छन्, पाँचथरको फिदिम र आसपासको क्षेत्रमा भएको मृत्युबारे थाहा पाए।

उनलाई लाग्छ, ‘कसैको मृत्युको खबर सुनेपछि भ्याएसम्म र सकेसम्म सहभागी हुनु मानवीय कर्तव्य हो।’ र, उनी ‘बाँच्दाको जन्ती, मर्दाको मलामी’ भन्ने आहानबाट प्रभावित छन्।

मृत्यु घटनामा सहभागिताबारे उनको बुझाइ अलिक भिन्न पनि रहेछ। 
त्यो हो –विहे, व्रतबन्ध, छेवार जस्ता शुभ काममा अर्को पटक सहभागी हुन सकिन्छ। तर, मृत्यु घटनामा सकिन्नँ।

गुरुङको भनाइमा सत्यता छ। जन्मेपछि हरेक मानिसको मृत्यु एकपटक हुने हो। त्यहाँ सहभागी हुनु मानवीय धर्म हो।

यही भावनाले प्रेरित उनलाई जीवनमा कहिल्यै भेटघाट नहुने मृतकलाई सम्मानपूर्वक विदाइ गर्नुपर्छ भन्ने लाग्दोरहेछ।

केन्द्रविन्दुसँग गुरुङले भने, ‘बाँकी जिन्दगीमा भेट हुँदैन जब, संसारबाट कसैको देह अन्त्य (मृत्यु) हुन्छ, त्यही भएर चोला उठेको बेला सम्मानपूर्वक विदाइ गर्नुपर्छ।’

२५ वर्षदेखि निरन्तर मलामी जाने गरेका उनलाई यसबीचमा एउटा मृत्यु घटनाले भने अधिक मन दुखेको छ।

दुखाउने मृत्यु घटना सञ्जय दर्जीको हो। २२ वर्षीय उनले २०७६ जेठ ११ गते पाँचथरको फिदिमको गोलधारेमा झुण्डिएर आत्महत्या गरे। घर चाहिँ ताप्लेजुङको पेदाङ हो।

जसरी भएपनि मृत्यु त भयो। मृत्युपछि धार्मिक संस्कार र परम्पराअनुसार अन्त्येष्टी गर्नु सामाजिक बाध्यता हुन्छ।

त्यही भएर शवलाई अन्त्येष्टीका लागि चैत १२ गते फिदिमको हेवाँखोला लगे। गुरुङका अनुसार दर्जी नाजुक आर्थिक अवस्थाका थिए।

अन्यको मलामी कम्तीमा २/३ सय जना हुने गर्थे। दर्जीकोमा २६ जना भेला भए।

चिताका लागि दाउरा किन्न खर्च भएन। मलामी जानेबाट २६ सय त उठ्यो। तर, बाँकी २९ सय पुगेन। हेवाँखोलामा चिताका लागि ५५ सयमा दाउराको व्यवस्था हुन्छ।

एकातिर मलामी अत्यन्तै कम हुनु र अर्कातिर चितामा प्रयोग गरिएका दाउको पैसा मृतक परिवारसँग नहुँदा उनी जमानी बस्नुपर्याे।

उनलाई लाग्छ, ‘कसैको मृत्युको खबर सुनेपछि भ्याएसम्म र सकेसम्म सहभागी हुनु मानवीय कर्तव्य हो।’ र, उनी ‘बाँच्दाको जन्ती, मर्दाको मलामी’ भन्ने आहानबाट प्रभावित छन्।

त्यसपछि उनलाई सञ्जय दर्जीको जस्तो मृत्यु संस्कार कसैको नहोस् भन्ने लागेको छ।
‘बाँच्दा जे–जे भयो तर मृत्युपछि विदाइ सम्मान र विधिपूर्वक गर्नुपर्छ’, गुरुङले भने, ‘सञ्जयको चाहिँ बढो पिर लाग्ने गरिको भयो र त्यस्तो कसैको नहोस् भन्ने लागेको छ।’

उनका अनुसार त्यसो हुनुको एउटा कारण भयो। त्यो हो–दलित र गरिब।

धनी, उपल्लो जाति, सामाजिक/राजनीतिक रूपमा प्रतिष्ठित व्यक्तिको मृत्युमा भने मलामीको रूपमा अधिक मानिसहरू सहभागी हुने गरेको उनले महसुस गरेका छन्।

अब उनलाई मलामी जाँदाको २५ वर्षे अनुभव र यसबीचमा मलामी गएका ४५२ जनाको सम्झनास्वरुप एउटा काम गर्ने मन छ।

त्यो काम पुस्तक प्रकाशन हो। जहाँ आफू मलामी गएका सबै मृतकहरूको तस्विर र पहिचान खुल्ने विवरणहरू राखिने बताए।

त्यसका लागि मृतकहरूको तस्विर संकलनमा उनको व्यस्तता छ।

कल्याण कर्म
जिल्लाको सामाजिक सेवा क्षेत्रको अग्रणी व्यक्तिमध्येका गुरुङ एक हुन्। तर, उनी प्रचार रुचाउँदैनन्।
सफा मनले गरेको कर्मबारे ‘विज्ञापन’ चाहँदैनन्। उनीसहित मंगल बेघा, भवानी घिमिरे, नवराज घिमिरे, भवानी तावालगायतको एउटा समूहले जिल्लाको इम्बुङमा पाँच जना अपाङ्गता भएका दिलमाया तामाङको परिवारलाई लाखौं रूपैयाँको दोकान स्थापना गरिदिए। घर पनि निर्माण गरिदिए। जनसेवा समाजले पनि खाद्यन्न, लत्ताकपडा आदि सहयोग गरेको थियो।

चरम गरिबीले थेचारिएका तामाङ परिवार आर्थिक रूपमा हाल समृद्ध भएको छ।

यसरी गुरुङसहितका समाजसेवी युवाले कयौंलाई दीगो जीविकोपार्जन हुने गरी सहयोग गरेका छन्।
हाल समाजसेवाकै लागि उनी संरक्षक रहेको समथिङ फाउण्डेसन क्रियाशील छ। साहित्यीक, सामाजिक र शैक्षिक क्षेत्रमा संस्थाले गतिविधि गर्दै आएको छ।

संस्थाले जिल्लाको फिदिमस्थित गडी मा.वि.मा अध्ययनरत दृष्टिविहीन १६ जना विद्यार्थीहरूलाई वार्षिक रूपमा पोशाक तयार गरेर दिने गरेको छ। जुन २०७१ देखि जारी छ।

दश जोड २, स्नातक तह र स्नातकोत्तर तहसम्मै दृष्टिविहीन विद्यार्थीहरूको पठनपाठनमा सहयोग गर्दै आएका छन्।

भर्ना शुल्क, परीक्षा शुल्कदेखि पोशाक तयार गरेर वितरण गर्दै आएका छन्।

संस्थाको सहयोग प्राप्तमध्ये दृष्टिविहीनहरू प्रदीप लिङदेन र झुमा मिश्रले स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन्। 

‘एक बोरा चामल मागेर दिने अनि फेसबुकभरी लगाउनु उचित लाग्दैन, बरु दीगो सहयोग पुग्ने गरी के–के गर्दा हुन्छ? त्यसतर्फ ध्यान जान्छ” गुरुङले भने।

उनी ५२ वटा पुस्तकका लेखकसमेत हुन्। ५१ वर्षीय उनी हाल ६ वटा पुस्तक लेखिरहेका छन्।
उनी स्वर्गीय असलबहादुर र जसमायाँ गुरुङको १७ जना सन्तानमध्ये तेस्रो सन्तान हुन्। 

Skip This
Logo