कोरोना बिरामीलाई अब ‘बेड’ छैन: सरकार (भिडियोसहित)

कोरोना बिरामीलाई अब ‘बेड’ छैन: सरकार (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको हो। मन्त्रालयले यस्तो अवस्थामा सर्वसाधारण स्वयंले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताएका छन्। उनले आफूहरूसँग पर्याप्त संख्या नपुगेकोले यो विषय थाती रहेको उल्लेख गरे। शुक्रबार आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कोरोना संक्रमण विरुद्ध सरकारले हेलचक्य्राइँ गरेको भन्दै त्यसप्रति संवदेनशिल हुनपनि आग्रह गरेका छन्।

कोरोना महामारीको दोेस्रो लहरसँगै वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको छ।  विशेष गरेर निषेधाज्ञाका कारण यातायातमा परेको प्रभावले गर्दा श्रम स्वीकृतिको संख्या घटेको विभागले जनाएको छ।

धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिएको हो। उक्त हेलिकोप्टर १५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीक नाइन एन एसीआर कल साइन भएको सेनाको भनाई छ।

हाल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देश भारतलाई अन्य ४० बढी मूलुकले सहयोगको घोषणा गरेका छन्। भारत विदेश सचिव हर्षवर्धन शृंगलाले दिएको जानकारी अनुसार ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने छन्। भारतमा दिनहुँ झण्डै तीन लाख नागरिक कोभिडबाट संक्रमित भइरहेका छन् भने कम्तीमा पनि दुई हजार बढिले सङ्क्रमणका कारण ज्यान गुमाइरहेका छन्।

Logo