आइसियु र भेन्टिलेटरका बिरामी सातामै दुई गुणा बढे

आइसियु र भेन्टिलेटरका बिरामी सातामै दुई गुणा बढे


कोरोना  महामारीले उग्र रुप लिँदै गर्दा देशभरिका अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरमा भर्ना भएका कोरोना संक्रमितको संख्या १० दिनमा २ गुणाभन्दा बढी भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार वैशाख १२ मा आइसियुमा रहेका बिरामीको संख्या २ सय ५२ थियो जुन २.४४ गुणाले बढेर मंगलबार, वैशाख १२ मा ६१६ पुग्यो। अर्कोतर्फ, वैशाख १२ मा भेन्टिलेटरमा रहेका बिरामीको संख्या ६५ मात्र थियो, जुन २.७५ गुणाले बढेर मंगलबार १ सय ७९ पुग्यो। मंगलबार मात्रै आइसियुमा ३८ र भेन्टिलेटरमा ३७ जना नयाँ कोरोना संक्रमित भर्ना भएका थिए।

आइसियु र भेन्टिलेटरमा कोरोना संक्रमित संख्या बढ्नुको अर्थ के?

इन्टेन्सिभ केयर युनिट (आइसियु) गम्भीर समस्या भएका बिरामीको रेखदेख र उपचारका लागि अस्पतालमा राखिने विशेष कक्ष हो। कोरोना भाइरसका सामान्य लक्षण भएका बिरामी सामान्य रेखदेख र उपचारबाट निको हुन सक्छन्। 

तर, जब संक्रमितका ज्यानै धरापमा हुने गरी कोरोना भाइरसले असर गर्छ तब आइसियु आवश्यक हुन आउँछ। कोरोनाले बढी नै क्षति पुर्याएको अवस्थामा फोक्सोमा असर गरी श्वासप्रश्वासमा बाधा सिर्जना गर्छ। 

भेन्टिलेटर यन्त्रले त्यस्ता समस्या भएका मानिसको फोक्सोमा सास भर्ने र फ्याँक्ने काम गर्छ। यस अर्थमा आइसियु र भेन्टिलेटरमा भर्ना हुनेको संख्या अकासिनुले कोरोना दोस्रो लहरको प्राणघातक क्षमता बढिरहेको देखाउँछ।  

संक्रमितको चाप ज्यामितीय अनुपातमा तर क्षमता विकास अंकगणितीय अनुपातमा
आइसियु र भेन्टिलेटरमा बिरामीको संख्या ज्यामितीय अनुपातमा बढिरहेको अवस्थामा त्यसै अनुसार आइसियु र भेन्टिलेटरको व्यवस्था सरकारले गरेको भने देखिँदैन। आइसियु र भेन्टिलेटरको उपलब्धता बढ्दैछ तर त्यो आइसियु र भेन्टिलेटर चाहिने संक्रमितको वृद्धिदरको अनुपातमा निकै झिनो छ।  वैशाख १२ मा आइसियुको संख्या १ हजार १ सय ६९ थियो जसमा क्रमिक रूपमा २ सय ३७ वटा थपेर मंगलबार १ हजार ४ सय ६ पुर्याइयो। त्यस्तै वैशाख १२ मा भेन्टिलेटरको संख्या ४ सय ७८ थियो जसमा क्रमिक रूपमा ९४ वटा थपेर मंगलबार ५ सय ७२ पुर्याइयो।

गम्भीर प्रकृतिका केसहरूको चाप र स्वास्थ्य क्षेत्रको संस्थागत क्षमताबीच यस किसिमको असन्तुलन भएको अवस्थामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले आउने दिनमा महामारी नियन्त्रण गर्न सरकारलाई झन् कठिन हुँदै जाने विज्ञ बताउँछन्।

वैशाख १२ मा आइसियुमा रहेका बिरामीको संख्या २ सय ५२ थियो जुन २.४४ गुणाले बढेर मंगलबार, वैशाख २१ मा ६ सय १६ पुग्यो।

‘दोस्रो लहर आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले आवश्यक संस्थागत तयारी गरेन। सरकारले समाधानका रूपमा लकडाउनबाहेक विकल्प नै देखेन,’ जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दिक्षितले भने।

‘यो अवस्थामा आउने चार हप्ता संक्रमित संख्या, आइसियु र भेन्टिलेटरमा भर्ना हुनेको संख्या र मृत्युदर बढिरहने देखिन्छ। सरकारले थाम्न नसक्नेगरी स्थिति अप्ठेरो हुँदैछ,’ उनले थपे।

आइसियु र भेन्टिलेटरमा उपत्यकाका संक्रमित धेरै

आइसियु र भेन्टिलेटरमा रहेका बिरामीमध्ये ठूलो अनुपातमा उपत्यकाका बिरामी रहेका छन्। मंगलबार आइसियुमा रहेका ६ सय १६ कोरोना संक्रमितमध्ये १ सय ९४ अर्थात ३१.५ प्रतिशत संक्रमित उपत्यकाका अस्पतालमा रहेका थिए। त्यसै दिन भेन्टिलेटरमा रहेका १ सय ७९ कोरोना संक्रमितमध्ये ७७ अर्थात् ४३ प्रतिशत काठमाडौँ उपत्यकाका अस्पतालमा रहेका थिए।

 काठमाडौँ उपत्यकाका सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अस्पताल, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, ह्याम्स अस्पताल,  नेपाल मेडिसिटी अस्पताल र स्टार अस्पतालमा  कोरोना संक्रमितका लागि आइसियु र भेन्टिलेटरको व्यवस्था छ।

Logo