देशभर अक्सिजनको अभावः संक्रमितलाई अस्पतालहरुले भर्ना लिनै छाडे

देशभर अक्सिजनको अभावः संक्रमितलाई अस्पतालहरुले भर्ना लिनै छाडे


नेपालमा पनि भारतमा जस्तो अक्सिजन अभाव चुलिएको छ। जिल्लाका अधिकांश अस्पतालले नयाँ कोरोना संक्रमितलाई न भर्ना लिन्छन्, न भर्ना भएकालाई अक्सिजन पुर्याउन सकिरहेका छन्। उल्टै अस्पतालहरु विज्ञप्ति निकाल्दै संक्रमित व्यक्तिहरुका लागि परिवारका सदस्यहरुलाई अक्सिजन जोह गर्न सूचित गरिरहेका छन्।

हुन त सरकार आफैं नेपालमा अक्सिजनको अभाव तत्काल नभएको बताइरहेको छ। अभाव छ त केवल अक्सिजन सिलिन्डरको भनिरहँदा भएको सिलिन्डरलाई पनि आवश्यकता अनुसार उपयोग गर्न सकिरहेको छैन। यता अस्पतालहरु भने अक्सिजन अभाव भयो भनेर हात उठाउन थालिसकेका छन्। 

एकातिर संक्रमणले शिथिल बनाएको शरीर र अर्को अस्पताल पुगे बाँच्छु भन्ने आशमा अस्पताल पुगेका संक्रमित र आफन्तहरु सरकार र अस्पताल दुबैले हात उठाएसँगै अघिको आश निरासामा बदलिएको बताउँछन्। 

मोरङ घर भएका कोरोना संक्रमित लल्लु धामी भन्छन् , यसरी नै हाम्रो स्वास्थ्यक्षेत्र गैरजिम्मेबार बनिरहेको छ। यसमा तीनै तहको सरकारको लापरबाहि र दोष छ, म आफू त मर्छु जस्तो लागेको थियो, वेड कतै पाईएन, अक्सिजन त परैको कुरा भगवानले हेर्नु भयो अब त कोरोना जितें, सास आएको छ। तर, सरकारले केहि दिनमै उपयुक्त कदम नचाले म त भाग्यले बाचेँ अरुको पनि मेरो जस्तै भाग्य होला र? केन्द्रबिन्दुकर्मीसँग फोनमा सुनाए। उनी मंगलबार मात्रै कोरोना जित्न सफल भएका थिए।

प्राय अधिकांश अस्पतालहरु यतिबेला सेवा दिन नसक्ने जनाइरहेका छन्। अस्पताल भर्ना भएका सबै बिरामीलाई अक्सिजन आवश्यक पर्ने देखिएको तर अक्सिजनको मौज्दात नहुँदा थप संक्रमितको उपचार गर्न सकिने अवस्था नरहेको विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंहको भनाइ छ।

हामीले मौज्दात सामाग्रीबाट उपचार गराई रहेका छौं। अहिलेसम्म पुगेको छ । यस्तै हो भने हामीले पनि हात उठाउनु पर्ने दिन आउन सक्छ, डा.सिंहले थपे। उनले सरकारमाथि आक्रोस पनि पोखेका छन्, राज्य के हेरेर बसेको छ, उनीहरु चाहिँ बिरामी हुँदैनन् र भन्दै अहिलेनै काम नगरे कहिले गर्ने भन्ने प्रश्न डा.सिंहको छ।

यता काठमाडौं उपत्यकामा पनि अबस्था उहि छ। मध्यपुर अस्पतालले मंगलबारदेखि थप संक्रमितलाई भर्ना गर्न नसक्ने भन्दै विज्ञप्ति निकाल्यो। 

हुन त सरकार आफैं नेपालमा अक्सिजनको अभाव तत्काल नभएको बताइरहेको छ। अभाव छ त केवल अक्सिजन सिलिन्डरको भनिरहँदा भएको सिलिन्डरलाई पनि आवश्यकता अनुसार उपयोग गर्न सकिरहेको छैन।

संक्रमण बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ। हाल उपचाररत बिरामीका हकमा पनि अक्सिजनको व्यवस्था नभएसम्म सेवालाई निरन्तरता दिन नसकिने विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा रहेको एक भेन्टिलेटर बेड, ४ आईसीयू बेड, १० एचडीयू बेड र ७ जनरल बेड संक्रमितले भरिएका छन् । अन्यलाई भर्ना गरेर न राख्ने ठाउँ छ, न अक्सिजन छ, विज्ञप्तिमा लेखिएको छ।

यता भक्तपुर अस्पतालको अवस्था पनि मध्यपुर अस्पतालको जस्तै छ। अस्पताल प्रशासनले भनेको छ, ‘हामीसँग मौज्दात अक्सिजन सिलिन्डर रित्तिसक्यो, जनकपुरबाट मगाएको पनि सकियो, अस्पतालमा बिरामी भर्ना गर्न सक्ने अवस्था छैन, भर्ना भएका बिरामी पनि अन्यत्र कतै अक्सिजन भएको ठाउँमा पठाउने कोशिस गर्दैछौं ।’

भक्तपुर अस्पतालमा ६८ बेड क्षमताको कोभिड वार्डमा ७० जना भर्ना भएका छन्। जसमध्ये ५ जना भेन्टिलेटर, ६ जना आईसीयू र २५ जना एचडीयूमा उपचाररत छन्। अस्पताल सबै भरिएको छ, भएका संरचनाले धान्ने अवस्था छैन, तथापि संक्रमित र संक्रमितका आफन्तको फोन आईरहन्छ तर, राख्ने ठाउँ छैन, भनिरहेका छौं, अस्पताल प्रशासनले बतायो।

काठमाडौं उपत्यकाको ग्राण्डी अस्पतालको पनि अबस्था त्यस्तै छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बुधबारदेखि संक्रमितलाई भर्ना नलिने उल्लेख गरेको छ। अक्सिजनको चरम अभाव सरकारले पूर्ति नगरेसम्म अन्य संक्रमितलाई उपचार गर्दैनौं, विज्ञप्तिमा लेखिएको छ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयू र एचडीयूका बेड पनि भरिएको छ। अस्पतालबाट संचालित ७ भेन्टिलेटरसहित ९ बेडको आईसीयू, १४ बेडको एचडीयू र बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएकोमा त्यहाँ पनि संक्रमित भरिभराउ छन्।

यता नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले पनि कोरोना संक्रमित बिरामी लिन छोडेको छ। शिक्षण अस्पतालले अक्जिसन सप्लाई गर्ने कम्पनीको मेसिन बिग्रिएको कारण आफूलाई चाहिने अक्सिजन आफैं बन्दोबस्तो गर्न भनेको छ। यसले के देखाउँछ भने कोरोनाको दोस्रो तरंग भयावहरुपमा फैलिएको देखिन्छ।

अस्पतालले उपत्यका केन्द्रीत प्रत्येक अस्पतालमा दैनिक ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर आवश्यक पर्ने देखिएको छ। तर, नेपाल सरकारबाट १ सय सिलिन्डर मात्र प्राप्त हुने जानकारी पाएपछि कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने अस्पतालहरुले जनाएका हुन्।

यता मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, र दीर्घायू अस्पतालले पनि अक्सिजन नभएको भन्दै विरामी लिन नसक्ने अवस्था रहेको विज्ञप्ति जारी गरेको छन्। निजी अस्पतालले मात्र नभएर नेपाल सरकार स्वास्थ्य मन्त्रालयले स्वयंले नै उपत्यकामा माग अनुसार अक्सिजन आपूर्ति गर्न नसकेको जनाएको छ। मंगलबार पत्रकारहरूसँग भर्चुअल कुराकानी गर्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकामा अहिले दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भएकोमा करिब ८ हजार सिलिण्डर मात्र आपूर्ति गर्न सकिएको बताए।

हुन त, चीनबाट ल्याउने भनिएको २० हजार अक्सिजन सिलिन्डर मध्ये ४ सय मंगलबार नेपाल ल्याइएको छ।

त्यो अहिलेका लागि पर्याप्त छैन। यस्तै ओमनबाट पनि गैर आवासिय नेपाली संघको सहयोगमा ६ सय अक्सिजन सिलिन्डर नेपाल ल्याइँदै छ। तर, हाल अक्सिजनका सिलिन्डर मात्र नभएर अक्सिजनकै अभाव हुँदा भने स्थिति असामान्यउन्मुख छ। 

उता, अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् भने, अस्पतालमा उपचारका लागि खटिएका स्वास्थ्यकर्मीहरूले पनि अक्सिजनको उपलब्धता हुने हो भने धेरै विरामी बचाउँने सकिने बताउँदै आएका छन्। 

Logo