इदउल फित्र घरमै बसेर मनाउन मुस्लिम आयोगको अपिल

इदउल फित्र घरमै बसेर मनाउन मुस्लिम आयोगको अपिल


नेपाल मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ।

मुस्लिम धर्मावलम्बीहरुको एक महिना लामो रमदान ब्रत विहीबार सकिएको छ। आज शुक्रबार पहिलो नमाज पढेपछि इद उल फित्र मनाउने गरिन्छ । कोरोना संक्रमणको कारण रमदान महिनाभरि मुसलमान समुदायले नजिकको मस्जिदमा गएर नमाज पढ्न पाएनन् भने सामुहिक रुपमा मनाईने इदउल फित्र पर्व पनि घरमा नै मनाउनु पर्ने भएको छ । 

नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको हुँदा सामूहिक रुपमा नमाज नपढ्न र इदउल फित्र पनि घरमा नै बसेर मनाउन आग्रह गरे । यस्तै अध्यक्ष अन्सारीले स्थानीय स्तरमा आईसोलेसन तथा क्वारेन्टीन केन्द्र बनाउन आवश्यक देखिए मस्जिद तथा मदरसा उपलब्ध गराउन मस्लिम समुदायलाई आग्रह पनि गरेका छन् ।

मुस्लिम धर्माबलम्बीहरुले मान्ने हिजरी सम्वतको नवौं महिना रमादान महिना हुने र रमादान महिनाभर ब्रत (रोजा) बस्ने चलन छ । यो महिनामा कुरान आएको भन्ने विश्वास गरिन्छ । 

मुख्यमन्त्री राउतद्वारा घरमै बसेर पर्व मनाउन अपिल

यसैबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले इस्लाम धर्मालम्बीहरूको महान पर्व ईलउल फित्रको अवसरमा आज मुश्लिम धर्मालम्बीका साथै प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन्। सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोतर प्रगतिको कामना गर्दै मुख्यमन्त्री राउतले यस पर्वको माध्यमबाट मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिबृद्धि होस् भनि कामना गरेको मुख्यमन्त्रीको प्रेस सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको हुँदा मुख्यमन्त्री राउतले सरकारले निर्धारण गरेको मापदण्डलाई पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन अपिल गरेका छन्। प्रदेश सरकारले ईदउल फित्र मनाउनका लागि शुक्रबार (वैशाख ३१ गते) आज प्रदेशभर सार्वजनिक विदा दिइएको सो विज्ञप्तिमार्फत उल्लेख गरिएको छ।

Logo