कोरोना महामारीका बेला पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

कोरोना महामारीका बेला पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी


नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ।

कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि बाहानामा पत्रकारको रोजगारी नखोस्न चेतावनी दिएको हो। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बाहानामा पत्रकारलाई निस्कासन नगर्न आग्रह गरे। उनले कोभिड १९ को पहिलो लहरमा जस्तै दोश्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताए। 

महासंघले कोभिडको दोश्रो लहरमा निष्कासनमा परेका ९ जनाको पुर्ननियुक्ति समेत गराएको महासचिव पुरीले जानकारी दिए। त्यसैगरी ५ वटा सञ्चार माध्यमलाई ७ दिनभित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उनले जानकारी दिए।

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकारमाथि उठ्नुपर्ने आवश्यकता औंल्याए। महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ।

पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ। पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको आवासगृहमा आइशोलेसन बेड निर्माण गरेको गरिएको छ। त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सकसहितको आइशोलेसन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिए। 

काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भइआएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आइसियु, भेन्टीलेटर मिलाउने जस्ता काम महासंघले गरिरहेको उनले बताए।

महासंघका अनुसार, जेठ २ गतेसम्म मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन्। २५० भन्दा बढी सक्रिय संक्रमित छन्। ४० जना अस्पतालमा उपचार गराइरहेका छन्। ६ जनाको आइसियु र भेन्टीलेटरमा उपचार भइरहेको छ भने संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन्।

Logo