निषेधाज्ञामा ‘स्क्रीन टाइम’ बढ्यो, कसरी गर्ने व्यवस्थापन?

निषेधाज्ञामा ‘स्क्रीन टाइम’ बढ्यो, कसरी गर्ने व्यवस्थापन?


काठमाडौँ उपत्यकालगायत देशभरका जिल्लामा निषेधाज्ञा जारी भएसँगै मानिसले मोबाइल र कम्प्युटर जस्ता डिभाइसमा बिताउने समय बढेको छ। दिउँसोको समयमा इन्टरनेटको प्रयोग बढेसँगै मानिसले मोबाइल र कम्प्युटरमा बिताउने समय बढेको देखिन्छ। 

नेपाल इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) का अनुसार राति हुने इन्टरनेट डेटाको खपतमा खासै ठूलो परिवर्तन आएको नभए पनि दिउँसो भने डेटा खपत एक तिहाइले बढी हुन पुगेको छ। 

निषेधाज्ञा सुरु भएयता इन्टरनेटको प्रयोग दिउँसो ३० प्रतिशतसम्म बढेको पाइएको इस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए।

‘ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छैन। रातिको समयमा इन्टरनेट प्रयोगमा पनि खासै परिवर्तन आएको छैन। तर, दिउँसो भने प्रयोगकर्ताको चाप ३० प्रतिशतसम्म बढेको छ,’ पराजुलीले भने।

‘निषेधाज्ञाका कारण मानिस घरघरै भएकाले दिउँसोको समयमा इन्टरनेटको प्रयोग बढेको हुनुपर्छ। साँझको समयमा भने प्रयोग सामान्यतया पनि उच्च नै हुने गर्छ,’ उनले थपे।

अत्यधिक ‘स्क्रीन टाइम’का असर

कम्प्युटर र मोबाइल फोन हाम्रो दैनिकीका अभिन्न अंग बन्न पुगेका छन्। दैनिक सम्पर्क, सञ्चार, मनोरञ्जन, अध्ययनलगायत कार्यमा हुने इन्टरनेटको उपयोगिताले इन्टरनेटको प्रयोग अपरिहार्य जस्तो हुन पुगेको छ। त्यसमाथि निषेधाज्ञाको समयमा भौतिक सम्पर्कका विकल्पका रूपमा इन्टरनेट आएको छ।

 तर, इन्टरनेटको अधिक प्रयोगसँगै स्क्रीनमा बिताइने समय पनि बढ्न जान्छ। मानिसले स्क्रीनमा बिताउने समय र उनीहरूका शारीरिक र मानसिक स्वास्थ्यबीच रहेको सम्बन्धबारे विभिन्न अध्ययन भएका छन्। 

जर्नल अफ डेभलपमेन्टल एन्ड विहेभियरियल पेडियाट्रिक्समा २०१६ मा प्रकाशित जस्टिन प्यारेन्ट र उनका सहकर्मीहरूको अध्ययनका अनुसार स्क्रीनमा ज्यादा समय बिताउनाले जुनसुकै उमेरका युवामा निद्राको कमी ल्याई उनीहरूको व्यवहारमा नकारात्मक असर पु¥याउँछ।

‘बीएमजे ओपन’मा प्रकाशित चिनिया विद्यार्थीहरू माथि गरिएको एक अध्ययनले शारीरिक जागरुकता र अस्वस्थ व्यवहार स्क्रीनमा बिताइने समयसँग सम्बन्धित भएको देखाएको छ।  

गादी लिसाकले २०१८ मा गरेको एक अध्ययनका अनुसार स्क्रीनमा अत्याधिक समय बिताउनाले अनिद्रा, आँखाको ज्योतिमा कमी, उच्च रक्तचाप, मोटोपना र अनियन्त्रित तनाव निम्तिन सक्छन्। त्यसका साथै डिप्रेसन र आत्महत्या जस्ता समस्या स्क्रीनमा अत्याधिक समय बिताउनाले हुने अनिद्राको समस्यासँग सम्बन्धित रहेको समेत उक्त अनुसन्धानले पत्ता लगाएको थियो।   

‘स्क्रीन टाइम’लाई कसरी व्यवस्थापन गर्ने?

दैनिक जीवनमा अपरिहार्य हुनपुगेकाले फोन वा कम्प्युटरको प्रयोग नगरी बस्न असम्भव जस्तै छ। तर, स्क्रीनमा दिइने समयलाई व्यवस्थित बनाउन सके मात्र उल्लेख गरिएका असरबाट बच्न भने सकिन्छ। स्क्रीन टाइमलाई व्यवस्थापन गर्ने तरिका यस प्रकार छन्ः 

१. समयमा नियन्त्रण राख्नुहोस्ः मैले दैनिक स्क्रीनमा कति समय दिँदैछु भनेर कहिल्यै सोच्नुभएको छ? दैनिक कति समय स्क्रीनमा दिइँदैछ भनेर निगरानी गर्ने ‘स्क्रीन टाइम जस्ता एप्पहरू पनि पाइन्छन्। अथवा साधारण हिसाबले आफ्नो दैनिक गतिविधिलाई नियाल्दा पनि त्यो थाहा पाउन सकिन्छ। 

स्क्रीन टाइम र स्वास्थ्य सम्बन्धित भए पनि स्क्रीनमा कति समय बिताउने भन्ने कुरा भने अनुसन्धानको विषय छ। तथापि आफूले स्क्रीनमा बिताउने समय थाहा भएमा त्यसले कस्तो असर गर्दैछ भन्ने बुझेर सतर्क भएर समय दिन सकिन्छ। स्क्रीनअगाडि बसेर काम गर्दा समय समयमा विश्राम लिनु पनि आवश्यक हुन्छ। 

२. वैकल्पिक गतिविधिमा पनि ध्यान दिनुहोस्ः डिभाइसको प्रयोगबाहेक तपाईँले गर्नसक्ने गतिविधिबारे पनि विचार गर्नुहोस्। ती गतिविधीमा तपाईँ कत्तिको समय दिँदैहुँदैछ र स्क्रीनमा बिताउने समयले ती गतिविधिमा कस्तो असर पुर्याएको छ भन्नेबारे पनि विचार गर्नुहोस्। अत्यधिक स्क्रीन टाइमले तपाईँले शारीरिक व्यायाममा दिने समय घटाएको हुन सक्छ। 

तपाईँले स्क्रीनमा दिने समय कटौती गरेर व्यायाममा पनि लगाउन सक्नुहुन्छ। त्यसबाहेक सरसफाइ र  आरामजस्ता कुराहरूमा पनि तपाईँको स्क्रीन टाइमले असर पु¥याएको हुन सक्छ। स्क्रीन टाइमबारे सचेत भई त्यसले तपाईँको जीवनका अन्य पक्षमा गरेको हस्तक्षेपलाई नियन्त्रण गर्न सकिन्छ।

३. प्रयोगको समयबाहेक डिभाइस बन्द गर्नुहोस्ः आफूले जे कार्यका लागि डिभाइस खोलेको हो, त्यो भइसकेपछि डिभाइस बन्द गर्नुहोस्। मानिलिऊँ तपाईँ अहिलेको वस्तुस्थिति बुझ्न मोबाइल या कम्प्युटर चलाउँदै हुनुहुन्छ। तपाईँलाई पढ्न वा हेर्न मन लागेका कुराहरू सकिएपछि डिभाइस बन्द गर्नुहोस्। डिभाइस खुलै राख्दा त्यसले तपाईँलाई आकर्षित गरिरहेको हुन्छ। 

४. डिभाइसलाई व्यवस्थित राख्नुहोस्ः तपाईँले एप वा डिभाइसमा भएका अरू कुनै सेवामा कति समय बिताउनुहुन्छ भन्ने थाहा भएपछि तपाईँले तिनको उपयोगिताबारे आफैँलाई प्रश्न गर्न सक्नुहुनेछ। कम उपयोगी एप वा सेवाहरू कम चलाउनुहोस् वा हटाइदिनुहोस्। तिनले दिने नोटिफिकेसनमा समेत फोन वा कम्प्युटरको सेटिङमार्फत् नियन्त्रणमा राख्न सकिन्छ। 

Logo