वीरगन्जमा फैलिँदै ‘कालो ढुसी’ संक्रमण, कोरोना बिरामीलाई किन खतरा?

वीरगन्जमा फैलिँदै ‘कालो ढुसी’ संक्रमण, कोरोना बिरामीलाई किन खतरा?


वीरगन्जनिवासी मधुमेहकी बिरामी सीतादेवी (नाम परिवर्तित) मा कोभिड–१९ पोजिटिभ देखियो। उपचारका लागि वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएको पाँच दिनपछि उनीमा आँखा दुख्ने, चिलाउने र रातो हुनेजस्ता समस्या देखिन थाले। 

दस दिनको वीरगन्ज हेल्थ केयर बसाइपछि उनलाई भेन्टिलेटरको आवश्यकता भएकाले वीरगन्जमै रहेको स्पर्श हस्पिटल रिफर गरियो। स्पर्श हस्पिटलमा उपचार हुँदाहुँदै उनको निधन भयो। 

सीतादेवीको उपचारमा खटिएका वीरगन्ज हेल्थ केयर हस्पिटलका फिजिसियन डा. दिपक कुशवाहा उनलाई भारतका कोभिड–१९ संक्रमितमा देखिएको कालो ढुसी भनिने म्युकरमाइकोसिसको संक्रमण भएको हुनसक्ने बताउँछन्। 

‘सुरुमा उहाँमा त्यस्तो केही समस्या देखिएको थिएन। तर, भर्ना भएको केही दिनपछि आँखामा समस्या देखिन थाल्यो। मैले आँखा जाँच गराउन सुझाव त दिएको थिएँ,’ डा. कुशवाहाले भने, ‘उहाँ हाम्रो हस्पिटलमा रहुन्जेलसम्म पनि आँखामा समस्या भने रहिराखेको थियो। पछि स्पर्श हस्पिटलमा फेरि उपचार गराउँदै गर्दा उहाँको मृत्यु भयो भन्ने सुनेँ।’

‘अहिले भारतमा कालो ढुसी संक्रमण बढेको कुरा आएको छ। लक्षणको आधारमा भन्दा उहाँलाई त्यो भएको हुन सक्छ,’ डा. कुशवाहाले थपे।

स्पर्श हस्पिटलका डा.महेश्वर कुर्मी उनलाई मिर्गौलाको पनि समस्या भएकाले डायलाइसिस गराउने तयारी गर्दागर्दै उनको मृत्यु भएको बताउँछन्।

‘उहाँलाई भेन्टिलेटरको आवश्यकता भएकाले हामीकहाँ रेफर गरियो। भर्ना भएको एक दिन मात्र भएको थियो, हामी डायलाइसिस  गराउने तयारीमा थियौँ। उहाँ बित्नुभयो,’ डा. कुर्मीले फोनमार्फत केन्द्रबिन्दुलाई जनकारी गराए। डा. कुर्मीले पनि उनको आँखा र नाकमा समस्या देखिएको बताए।

वीरगन्जमै रहेको नारायणी अस्पतालमा आएका कोभिड–१९ का बिरामीमा पनि कालो ढुसी देखिएको अस्पतालका चिकित्सक डा. निरज सिंहले बताएका छन्। 

‘अहिलेसम्म मैले पाँचजना त्यस्ता खालका बिरामी भेटेँ। उनीहरूमध्ये तीनजनाको निधन भइसकेको छ भने एक जनामा लक्षण देखिए पनि उहाँ पछि ठीक हुनुभया,’ डा. सिंहले भने।   

‘अर्को एकजना भने आजै आउनुभएको हो। उहाँमा क्लिनिकल्ली र सिटी स्क्यानमा कालो ढुसी संक्रमण देखिएको छ। ल्याब परीक्षणका लागि नमुना पनि पठाएका छौँ,’ उनले थपे। 

ल्याब परीक्षणको नतिजा आउन १० दिन लाग्ने र औषधिका रूपमा प्रयोग गरिने लिपोजोमल एम्फोटेरिसिन पनि सजिलै उपलब्ध नहुने भएकाले समस्या थपिएको डा. सिंहले बताए। 
    
भारतका कोभिड–१९ संक्रमितमा देखिएको कालो ढुसी भनिने म्युकरमाइकोसिसको संक्रमण वीरगन्जमा पनि चार जनामा देखिएको छ। 

संक्रमितमा एकापट्टिको मुख, सुन्निने, आँखा, सुन्निने, नाकबाट रगत आउने, आँखा वरिपरिका भागमा कालो डाम बस्ने जस्ता समस्या बढ्दै गएको नारायणी अस्पतालका  डा. निरज सिंहले बताए।

डा. सिंहले सामाजिक सञ्जालमार्फत् भारतमा देखिएको म्युकरमाइकोसिस नेपालमा पनि देखिएको दाबी गरेका छन्।

राज्यस्तरमा अन्योल

भारतमा कालो ढुसी संक्रमण देखिएपछि कालो ढुसीसम्बन्धी भारतको राष्ट्रिय कोभिड–१९ टास्क फोर्सले एडभाइजरी निकालेको थियो। वीरगन्जमा कालो ढुसी संक्रमण भएर कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपाल सरकारको तर्फबाट भने कुनै ठोस कदम चालेको देखिँदैन। नेपालको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यसबारे कुनै कदम चालेको छैन। 

भारतका कोभिड–१९ संक्रमितमा देखिएको कालो ढुसी भनिने म्युकरमाइकोसिसको संक्रमण वीरगन्जमा पनि चार जनामा देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ एमर्जेन्सी अपरेसन सेन्टर (एचइओसी) ले पनि यसबारे कुनै ठोस निष्कर्ष निकालेको देखिँदैन। यद्यपि, एचइओसीका सह–प्रवक्ता डा. समीर अधिकारीका अनुसार यसबारे छलफल चलिरहेको छ।

‘वीरगन्जका डाक्टरसँग कुराकानी भइरहेको छ। यसबारे हाम्रा विज्ञ अध्ययन र छलफलमा लाग्नुभएको छ। निष्कर्षमा भने हामी पुगिसकेका छैनौँ,’ उनले भने।

के हो कालो ढुसी?

म्युकरमाइसिट नामको एक ढुसी हुन्छ जसलाई आम भाषामा कालो ढुसी भनिन्छ। त्यसको संक्रमण भएको अवस्थालाई चाहिँ म्युकरमाइकोसिस भनिन्छ। म्युकरमाइसिट माटो, बोटबिरुवा, कुहिएको फलफूल र तरकारीलगायत ओसिला वस्तुमा पाइन्छ।

यसले विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका र शरीरलाई कमजोर बनाउने औषधि सेवन गरिरहेका मानिसलाई असर गर्ने गर्छ। मधुमेह, एड्स र क्यान्सरका बिरामीलाई यसले असर गर्ने गरेको पाइएको छ। 

भारतमा भने कोभिड–१९ संक्रमण भएका मधुमेहका बिरामीमा यो संक्रमण बढी देखिएको भारतीय सञ्चारमाध्यम लाइभमिन्टले जनाएको छ।

ज्वरो आउनु, टाउको दुख्नु, खोकी, लाग्नु, श्वासप्रश्वासमा समस्या आउनु, बान्तामा रगत आउनु र चेतना गुम्नु यसका मुख्य लक्षण रहेका छन्। यसले खासगरी नाक, आँखा र फोक्सोमा असर गर्ने गर्छ।

नाक बन्द हुने, नाकबाट कालो वा रगत भएको पदार्थ निस्किने, गालाको हड्डी दुख्ने, नाकको डाँडी वा तालुको रंग कालो हुने, दाँत दुख्ने वा खुकुलो हुने, धमिलो वा एउटै कुरा दुईवटा देखिने, ज्वरो आउने, छालामा घाउ हुने, सास फेर्न गाह्रो हुने आदि संकेत कोभिड–१९, मधुमेहका बिरामी वा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा देखिएमा म्युकरमाइकोसिसको शंका गरी परीक्षणमा जानु पर्ने भारतको राष्ट्रिय कोभिड–१९ टास्क फोर्सको सुझाव छ।

डा. निरज सिंहका अनुसार वीरगन्जका संक्रमितमा भने अहिलेसम्म एकापट्टिको मुख सुन्निने, आँखा सुन्निने, नाकबाट रगत आउने, आँखा वरिपरिका भागमा कालो डाम बस्ने जस्ता संकेत देखिएका छन्।

कालो ढुसीका कारण मानिसको आँखा लगायत प्रभावित अंग शल्यक्रिया गरेर झिक्नुपर्नेसम्मको अवस्था हुने डा. सिंहले बताएका छन्।     

कोरोना संक्रमितलाई नै किन खतरा?

कोभिड–१९ का बिरामीलाई औषधिका रूपमा स्टेरोइडको प्रयोग गर्ने गरिन्छ। कोभिडको प्राणघातक असरको रूपमा रहेको फोक्सो लगायत अंगहरूमा हुने सूजन (इन्फ्लामेसन) रोक्नका लागि नेपालमा पनि स्टेरोइड प्रयोग गर्दै आइएको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको इन्टरनल मेडिसिन विभागका सह–प्राध्यापक डा. सुवास पन्तले बताएका छन्।

 नेपालमा अक्सिजनको अभाव सुरु हुँदै आएको अवस्थामा अक्सिजन नपाएमा समाधानका रूपमा स्टेरोइड प्रयोग गर्न संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत् सुझाएका थिए। 

तर, कालो ढुसीलाई गम्भीर अवस्थामा रहेका कोभिड–१९ का बिरामीलाई औषधीका रूपमा दिइने स्टेरोइडको प्रयोगले सक्रिय बनाएको हुनसक्ने भारतका डक्टरहरूले बताएका छन्। स्टेरोइडले मधुमेह भएका र नभएका दुवैमा सुगर लेभल बढाउने र प्रतिरोधात्मक क्षमता घटाउने भएकाले कमजोर रोग प्रतिरोधका कारण म्युकरमाइकोसिसका केसहरू देखा परेको भारतीय विज्ञहरूको निष्कर्ष छ। 

तसर्थ, स्टेरोइड प्रयोग गरिरहेका समग्र कोभिडका बिरामीलाई म्युकरमाइकोसिसको खतरा हुन्छ। 

‘कोभिड–१९ संक्रमणले यसै पनि सुगर लेभल उच्च बनाएको हुन्छ। तर, इन्फ्लामेसन रोक्न स्टेरोइड दिनुपर्ने हुन्छ। हामीले सुगर लेभल अति नै बढी भए वा मधुमेहको बिरामी भए सुगर मनिटरिङ गरेर, इनसुलिन दिएर स्टेरोइड दिने गरेका छौँ,’ डा. पन्तले भने।

Logo