कोभिड खोप लगाएपछि स्वास्थ्यकर्मी ‘फ्रन्टलाइन’मा पहिलेभन्दा निर्धक्क!

कोभिड खोप लगाएपछि स्वास्थ्यकर्मी ‘फ्रन्टलाइन’मा पहिलेभन्दा निर्धक्क!


डा. विपिन नेपाल ग्रान्डी अस्पतालमा काम गर्छन्। उनी विहान ९ बजे अस्पताल पुग्छन् अनि दिनभरि अस्पतालमा कोभिड–१९ बिरामीको उपचारमा खटेपछि बेलुका ५ बजेतिर घर फर्कन्छन्।

खोप लगाउनअघि आफ्नो परिवारका सदस्यलाई संक्रमण हुन्छ  कि भनी डराउने उनी अहिले भने सहजतासाथ आफ्ना बालबच्चासँग बेलुकाको समय बिताउँछन्। भेरोसेल खोपको दुवै डोज लगाइसकेका डा. नेपाल कोभिडविरुद्धको खोपले आफूलाई हौसला दिएको बताउँछन्। 

‘पहिले त बिरामीको छेउछाउ जान पनि डर लाग्ने गर्थ्याे। आफ्नै बालबच्चालाई सर्छ कि भनेर परै बस्थेँ। खोप लगाएपछि भने बिरामीको उपचारमा अझ बढी ध्यान दिन सक्ने भएको छु। साथै बच्चाहरू सँग पनि राम्रो समय बिताइरहेको हुन्छु,’ डा. नेपालले भने,‘छरछिमेकमा पनि कसैलाई कोभिडको लक्षण देखिए मलाई भन्नुहुन्छ। खोप नलगाएको अवस्थामा संक्रमणको भयले फोन मार्फत नै सुझाव दिन्थेँ। अहिले आवश्यक सतर्कता अपनाएर भौतिक उपस्थितिमै सुझाव दिने गरेको छु।

खोपको प्रभावकारिताबारे आफैंले अनुसन्धान गरेर हेरेको हुनाले पनि आत्मविश्वास बढेको डा. नेपाल बताउँछन्। २०० जनामा कोभिशिल्ड खोपको पहिलो डोज दिई परीक्षण गर्दा ८० प्रतिशतको हाराहारीमा भाइरसलाई जित्न आवश्यक मानिने एन्टीबडि पाइएको उनले बताए।

कोरोना भाइरसको दोस्रो लहरमा नयाँ भेरिएन्टहरू देखिएको र तिनको प्रभाव कडा भएको अवस्थामा खोपले उनलाई ढाडस दिएको बताउँछन्। 

‘सुरुआती चरणका लहरहरूमा भाइरसमा खासै धेरै उत्परिवर्तन भइसकेको हुँदैन। त्यस अर्थमा मैले लगाएको खोप प्रभावकारी नै हुने म ठान्दछु। यद्यपि नयाँ भेरिएन्ट अनुसार खोपको स्तरोन्नति पनि आवश्यक छ,’ डा. नेपालले खुलाए।

आवर वर्ल्ड  इन डेटाका अनुसार नेपालमा अहिलेसम्म कम्तिमा एक डोज खोप लगाउने मानिसको संख्या २५ लाख ४० हजार रहेको छ भने दुवै डोज खोप लगाउने व्यक्तिको संख्या ४ लाख २७ हजार रहेको छ।

अर्कोतर्फ कोभिशिल्ड खोपको दुवै डोज लगाइसकेका पाटन अस्पतालका चिकित्सक डा. उमाकान्त तिवारी खोप लगाएकालाई पनि संक्रमण देखिएको भए पनि उनीहरूमा भाइरसले गर्ने असर कम देखिएको बताउँछन्।

‘हाम्रा लागि अहिले पनि यो नयाँ रोग नै हो। हामीले अहिले सम्म यसलाई राम्रोसँग नबुझेको अवस्थामा डराउनुपर्ने अवस्था त छ नै,’ डा. तिवारीले भने, ‘खोपको एउटा राम्रो पक्ष के हो भने अहिलेसम्म खोपले कोरोनाको प्राणघातक प्रवृत्तिबाट बचाएको देखिन्छ। त्यसले हौसला भने दिइरहेको छ।’

‘दोस्रो लहरको भाइरस अलि हानिकारक देखिएको छ। पहिलो लहरमा बिरामीहरू आइसियु र भेन्टिलेटरमा हुने गर्थे तर अहिलेकोमा भने जेनेरल वार्डसमेत कोभिडका बिरामीले भरिएको अवस्था छ जसमा गम्भीर बिरामीहरू पनि पर्दछन्,’ उनले भने,‘खोप लगाएका बिरामीहरूमा पनि संक्रमण देखिएको भए पनि उनीहरूमा गम्भीर असरहरू खासै नदेखिएको मैले पाएको छु।’

अर्घाखाँची अस्पतालमा कार्यरत डा. सन्तोष न्यौपाने पनि खोपले आत्मबल दिएको बताउँछन्। उनले पनि कोभिशिल्ड खोपको दुवै डोज पाइसकेका छन्। ‘खोप लगाउँदैमा पूर्ण रूपमा सुरक्षित भइन्छ भन्ने छैन। अझै पनि प्रश्नहरू त छन् नै। तर, यसले ढाडस चाहिँ दिएको छ,’ डा. न्यौपानेले भने।

खोप लगाएको भए पनि डा. नेपाल, डा. तिवारी र डा. न्यौपाने तीनै जनाले सुरक्षाको उपाय भने कडाइसाथ अपनाइरहेको बताएका छन्। मास्क, पीपीइ र फेससिल्ड अनिवार्य रूपमा प्रयोग गर्दै आएको उनीहरूले बताएका छन्। 

आवर वर्ल्ड  इन डेटाका अनुसार नेपालमा अहिलेसम्म कम्तिमा एक डोज खोप लगाउने मानिसको संख्या २५ लाख ४० हजार रहेको छ भने दुवै डोज खोप लगाउने व्यक्तिको संख्या ४ लाख २७ हजार रहेको छ। अर्थात खोप लगाउनेहरूमध्ये १.५ प्रतिशतले मात्रै दुवै डोज लगाएका छन्। 

नेपाल सरकारले २०७७ माघ २४ मा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गर्दा अघिल्लो पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सबैभन्दा उच्च प्राथमिकतामा राखेको थियो। भारतले सहयोगका रूपमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोपको प्रयोग गरेर खोप अभियान सुरु गरिएको थियो। त्यस सहयोग बाहेक २० लाख खोप खरिदका लागि नेपाल सरकारले भारत सरकारलाई भुक्तानी समेत दिइसकेको अवस्था छ। तर, भारत सरकार र कोभिशिल्ड खोप निर्माता कम्पनी सेरमले आगामी डिसेम्बरसम्म भारतमा उत्पादन भएको खोप निर्यात गर्न नसकिने बताएका छन्।

Logo