जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी

जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी


सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन्। शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौ जना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए। 

जङ्गली च्याउ खाँदा बिरामी परेका नौ मध्ये आठ जनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए। जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौ जना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाएका छन्। 

त्यस्तै बिरामी पर्नेमा उनका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन्। जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो। जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए। 

च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिए।रासस

Logo