भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे


केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् ।

नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । 

वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए । बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको उनले बताए । 

उपचारका लागि सम्बन्धित निकायलाई सहयोग गरिदिन उनले आग्रह गरेका छन् । दशकौँपछि एक्कासि वैशाखमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ । जिल्लामा एउटा भेडाको मूल्य १० हजार रुपैयाँसम्म पर्छ ।

Logo