तिङ्करमा सशस्त्रको बीओपी : निर्माण शुरु नहुँदै म्याद सकिँदै

तिङ्करमा सशस्त्रको बीओपी : निर्माण शुरु नहुँदै म्याद सकिँदै


दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम सुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै सुरु हुन नसकेको हो ।

व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको हो । छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माणका लागि धुलिखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ । सम्झौता अवधि सकिन एक महिना बाकी रहँदा पनि निर्माण व्यवसायीले निर्माण कार्य सुरु नै गरेको छैन । 

अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गूल्म छाङ्गरुमा भाडाकै घरमा बसेको छ । छाङ्गरुमा अहिले निर्माणको काम भइरहे पनि तिङ्करमा भने काम नै शुरु हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ । निर्माण व्यवसायी लालबहादुर बम भने व्यासको तिङ्करमा छ महिनामा भवन बनाउन नसकिने बताउछन् । “पुसदेखि चैत÷वैशाखसम्मै हिमपात भयो । हिउँ परेको बेला त्यो क्षेत्रमा गएर भवन बनाउन सकिँदैन”, निर्माण व्यवसायी बमले भने, “अहिले मौसम ठिक भएको छ ।”
 
दार्चुलाको तिङ्कर छायालेक समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा पर्दछ । यो क्षेत्रमा निकै चिसो हुने गर्दछ । यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ । सशस्त्र प्रहरी पनि सँगै राख्ने गरी भवन निर्माण गरिन लागेको हो ।
 
“अहिलेको छ महिनामा भवन निर्माण गर्न सकिँदैन”, निर्माण व्यवसायी बम भन्छन्, “विकट ठाउँ छ । सामान ढुवानी गर्न लकडाउन छ । मजदुर लिन पनि भारतबाट अनुमति पाइने अवस्था छैन । नेपालतिर बाटोको अवस्था थाहा नै छ ।” सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि रु एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो ।

सरकारले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म राखेको छ । गुल्मअन्तर्गत माथिल्लो कौवा र तिङ्करमा बीओपी राख्ने तयारी छ । व्यास–२ दुम्लीङमा बीओपी स्थापना भइसकेको छ ।

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रैमास व्यासमा राखेको हो । अहिले सशस्त्र कालापानीभन्दा झण्डै १४ किलोमिटर तल गागामा बस्दै आएको छ ।

Logo