‘अक्सिजन फर नेपाल’ले सरकारलाई १० वटा अक्सिजन जेनेरेटर दिने

‘अक्सिजन फर नेपाल’ले सरकारलाई १० वटा अक्सिजन जेनेरेटर दिने


अक्सिजन फर नेपालले फ्रान्सबाट एयर कार्गोमार्फत् १० वटा अक्सिजन जेनेरेटर ल्याएर सरकारलाई हस्तान्तरण गर्ने भएको छ । 

अमेरिका नेपाल फाउन्डेशन (युएसए), बतास फाउन्डेशन, क्रिएजन, ह्युम्यानिटि फाउन्डेशन नेपाल, जगदम्बा स्टिल, मिसन रिब्युल्ड नेपाल र ज्योति ग्रुपको स्याकर ट्रेडिङ कम्पनि प्रा.लि. गरी ७ वटा सामाजिक तथा निजी क्षेत्रका संघ÷संस्थाहरुको को संयुक्त प्रयासका रूपमा अक्सिजन फर नेपाल अभियान सुरु भएकोमा त्यसै अन्तर्गत १० वटा अक्सिजन जेनेरेटर सरकारलाई दिइँदैछ। 

अक्सिजन फर नेपालले सोमबार बिहान ९ः३० बजे जुम मार्फत् पत्रकार सम्मेलन आयोजना गर्दै त्यस्तो जानकारी दिएको हो।

ल्याउन लागिएको अक्सिजन जेनेरेटरमध्ये हरेकले २४ घण्टामा ५० बेड र १५ सिलिण्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्छ। एक अक्सिजन जेनेरेटरको मूल्य १ लाख ५ हजार अमेरिकी डलर रहेको छ भने यसको तौल २५०० केजीको हाराहारी हुन्छ।

कार्यक्रम सञ्चालनकर्ता एवम् हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले कोभिडको दोस्रो लहर सुरु भएसँगै देखिएको अक्सिजनको अभाव भएको अवस्थामा केहि राहत हुन्छ भन्ने आशाले ‘अक्सिजन फर नेपाल’ सुरु गरिएको जानकारी गराए। साथै अक्सिजन प्लान्ट सातवटै प्रदेशमा कम्तिमा एउटा पर्नेगरी जडान गरिने उनले बताए।

‘स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग पनि हामीले सहयोगको माग राखेका छौँ। उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ। २ हप्ताभित्र प्लान्ट तयार हुन्छ र त्यसको केही दिनमा आइपुग्छ,’ उनले भने। 

उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एबम् ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिले आफू सुरुवातदेखि नै अक्सिजन उत्पादनमा सहभागि हुँदै आएकोमा यसपटक समन्वय गर्न पाउँदा खुसी लागेको बताए।

‘२०२९ सालमा हामीले हिमाल अक्सिजन उद्योगको निर्माण सुरु गर्याैं। २०३३–३४ मा त्यो तयार भयो। अहिले देशमा ३० को हाराहारीमा अक्सिजन उद्योग छन्। तर, त्यति मात्र पर्याप्त हुने देखिँदैन,’ उनले भने।

ज्योतिले अक्सिजनपछि खोप पनि महत्वपूर्ण विषय भएकाले त्यसमा सहकार्य गरिनुपर्नेमा जोड दिए।

त्यस्तै ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले व्यक्तिगत अनुभव सुनाउँदै कोभिड महामारी यसपटक बिकराल रूपमा प्रस्तुत भएको बताए।

‘सिलिन्डर भए पनि प्लान्टको अभाव छ। ३१ वटा प्लान्ट चौबिसै घण्टा सञ्चालनमा रहँदा पनि अभाव खड्किरहेको छ। ल्याउन लागिएको १० प्लान्ट पनि पर्याप्त हुँदैन। थप गरिनुपर्छ,’ उनले थपे। 

अमेरिका नेपाल मेडिकल फाउन्डेशनका मदन उप्रेतीले सानो स्केलको अक्सिजन कन्सन्ट्रेटरले समस्या समाधान नहुने देखिएकाले अक्सिजन जेनेरेटर आवश्यक भएको बताए। अक्सिजन जेनेरेटरलाई अस्पतालमा जडान गरेर पाइपलाइनबाट सीधै वितरण गर्न वा भण्डारण गर्न सकिने समेत उनले जानकारी गराए।

अक्सिजन कन्सन्ट्रेटर ल्याउने योजना बनाउँदै गर्दा शर्मा र उनको समूहले अक्सिजन प्लान्ट नै ल्याउन खोजेको थाहा पाएको र त्यो उपाय दिगो पनि हुने भएकाले आफू पनि त्यसमा सरिक भएको क्रिएजन नेपालका अध्यक्ष आनन्द मिश्रले बताए।  
 
उक्त कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला पनि उपस्थित थिए। उनले प्लान्ट जडान गर्न उपयुक्त ठाउँहरू चयन गर्न सुझाए।

कार्यक्रममा उपस्थित रहेका सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले सीसीएमसीले प्लान्ट ल्याउन कार्गो सहजीकरण गरिदिने बताए।

‘खोपका लागि पहल भए त्यसमा पनि हामी सहयोग गर्न तयार छौँ,’ उनले भने। बतास फाउन्डेशनका अध्यक्ष आनन्दराज बतासले आइसियूको उपलब्धतामा पनि आफू लागि परेको जानकारी दिए।

‘५३ लाखको सिड मनीबाट अक्सिजन प्लान्ट ल्याउने प्रयास सुरु भएको थियो। थप सहयोग सहित अहिले हामी प्लान्ट आपूर्ति गर्न सक्ने अवस्थामा छौँ,’ उनले भने।

६० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा १० वटा अक्सिजन जेनेरेटर बाहेक थप ५ जेनेरेटर पनि ल्याउन सकिनेबारे समेत छलफल भएको थियो। त्यसका लागि स्रोत जुटाउन पनि ‘अक्सिजन फर नेपाल’ तत्पर रहेकाले कार्यक्रममार्फत् आर्थिक सहयोगका लागि हात अघि बढाउन सौरभ ज्योतिले आह्वान गरेका थिए। 

Logo