बङ्गलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै

बङ्गलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै


ढाका ।

बङ्गलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो ।

धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुन मन्त्री अनिसुल हकले पत्रकारहरुलाई जानकारी दिए ।

उनले अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दण्डसम्मको व्यवस्था गरिएको बताउँदै सवैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पारे। सरकारले पारित गरेको नयाँ कानुनी व्यवस्थालाई राष्ट्रपति अब्दुल हमिदले चाँडै नै जारी गर्ने पनि उनले विश्वास व्यक्त गरे।

अहिले भइरहेको कानुनलाई द्रुत मार्गबाट संशोधन गरेर संसद नभएकाले अध्यादेशमार्फत् यस्तो कानुन जारी गर्न लागिएको हो । बलात्कारका घटना निरन्तर भइरहेकाले बङ्लादेशमा विद्यमान कानुन तत्काल संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्न आवाज उठिरहेको थियो ।

गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो ।

विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था लगायतले घटनाको विरोध र कडा कानुनको माग गर्दै राजधानी ढाकामा प्रदर्शन गरेका थिए । उनीहरु मध्ये अधिकांशले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनु पर्ने माग राखेका थिए ।

बङ्गलादेशमा गत नौ महिनामा कम्तीमा ९७५ जना महिला बलात्कृत भएको एक संस्थाको तथ्याङ्कमा उल्लेख छ । ती मध्ये २०० भन्दा बढी घटना सामूहिक बलात्कारका घटना भएको, ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको विवरण सार्वजनिक भएको छ ।

सञ्चार माध्यममा प्रकाशित समाचारलाई आधार मानेर सो तथ्याङ्क संकलन गरिएकाले यस्ता घटना अझ धेरै भएको हुन सक्ने अधिकारकर्मीहरुको अनुमान छ । तथ्याङ्कमा जनाइए अनुसार बलात्कार आरोपीमध्ये एक प्रतिशत मात्रै दोषी ठहर हुने गरेको छ ।

अधिकारकर्मीहरुले बलात्कारका घटनामा दोषी उम्किने र उसलाई बचाउन लाग्ने सङ्ख्या पनि धेरै र प्रभावशाली हुनु अर्को दुःखद पक्ष भएको बताएका छन् ।रासस

Logo