चित्लाङको ऐतिहासिक अम्बे जात्रा स्थगित

चित्लाङको ऐतिहासिक अम्बे जात्रा स्थगित


मकवानपुर ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगन गरिएको हो ।

थाहा नगरपालिका १० नम्बर वडाध्यक्ष हिराबहादुर गमालले हिन्दू धर्म अनुसार ६४ शिवलिङ्गमध्ये एक मानिने चम्पाकेश्वर मन्दिर परिसरमा लाग्ने अम्बेजात्रामा यस वर्ष नित्यपूजा र क्षमापूजा मात्र हुने बताए । ‘अघिल्ला वर्षमा जस्तो बजार राख्ने, लाखबत्ती बाल्ने, रुद्री गर्ने जस्ता क्रियाकलाप बन्द गरिनेछ,’ उनले भने ।

जात्रामा हरेक वर्ष मकवानपुरका मात्र नभई धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत जिल्लाबाट समेत भक्तजनको घुइँचो लाग्ने गरेको थियो । अम्बेजात्रालाई स्थानीयवासी गोपाली (गोपालवंशका मानिने) ले विशेष महत्व दिएर मनाउने गरेका थिए । स्थानीय न्हुँलगाउँ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकै पटक कुटिएको चिउरा चढाउने प्रचलन छ ।

गोपालीले टाउकामा पगरी र फूल सिउरेर घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलनसमेत छ । चम्पाकेश्वर मन्दिरमा प्रयोग गरिएको सम्पूर्ण काठ चाँपको छ। चाँपको रुखको फेदमा उत्पत्ति भएको भन्ने किंवदन्ती अनुसार स्थानीयवासी चम्पाकेश्वर महादेवका रुपमा पुज्छन् । चम्पाकेश्वरको पूजा गरे गाउँमा पानी पर्ने र गाईवस्तु पालन फस्टाउने स्थानीयवासीको विश्वास रहि आएको छ ।

Skip This
Logo