नेपालमा कोरोना संक्रमण घटेकै हो त?, के भन्छन् विज्ञहरु?

नेपालमा कोरोना संक्रमण घटेकै हो त?, के भन्छन् विज्ञहरु?


पछिल्लो समय काठमाडौं उपत्यका लगायतका यसअघि संक्रमण उच्च रहेका स्थानमा कोरोना संक्रमित घढ्दो क्रममा रहेको देखिएको छ।

पहिलो र दोस्रो तरंगमा सबैभन्दा बढी प्रताडित बनेको काठमाडौं उपत्यकामा गएको एक हप्दादेखिको तथ्यांक हेर्दा कोरोना कहर घट्दो मात्रामा छ भन्ने देखिएको हो।

तथापि विज्ञहरु अहिलेनै संक्रमण घटेको हो भनेर एकिन गर्न सकिने अबस्था नरहेको बताउँछन् । संक्रामक रोग विज्ञ तथा जिवाणु वैज्ञानिक डा.सन्तोष दुलालले संक्रमण अहिलेनै घटेको भनेर भन्न सकिने अबस्था नरहेको बताए।

कोभिड–१९ को दोस्रो तरंग केहि घटेको भएपनि तेस्रो भेरियन्ट वा तरंग नआउला भन्न सकिन्न अहिले नै तयारी अबस्थामा सरकार, विज्ञ, चिकित्सक बस्नुपर्ने दुलालले थपे।

त्यसो त कोरोनाको कहर नेपालमा मात्र होइन् नेपालसँग सीमा जोडिएको भारतमा पनि व्यापकरुपमा घटेको देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा पनि कोरोना भाइरस संक्रमित घटेको तथ्यांक सार्बजानिक भएको छ।

भारतमा कोरोनाका दैनिक नयाँ संक्रमित मे को मध्यमा ७० हजारमा झरेको छ। यो संख्या गत मार्च ३१ यताकै सबैभन्दा कम हो । भारतमा आइतबार १४ लाख ९२ हजार १५२ नमुना परीक्षण गरिएको थियो, जसमध्ये ७० हजार मानिस मात्र संक्रमित भए। अहिले भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १० लाखभन्दा कममा झरेको छ। मृत्यु दर पनि भारतमा उल्लेख्य घटेको मन्त्रालयले सार्बजनिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा संक्रमणको घढ्दो क्रम
दोस्रो तरंगको कोरोना संक्रमण क्रमशः मत्थर हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ। तथापि संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्यविदहरुले बताउँदै आएका छन्।

नेपालमा एक समय झण्डै ५० प्रतिशत पुगेको संक्रमण दर अहिले ओरालो लाग्ने क्रममा छ। संक्रमण दरले पनि कम हुँदै गएको देखाएको छ। दोस्रो तरंगमा संक्रमण उच्च विन्दुमा पुगेका बेला झण्डै ४५–५० प्रतिशत भएको संक्रमण दर पछिल्लो २४ घण्टामा २० प्रतिशत भन्दा तल छ। 

सोमबार नेपालमा थप २ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यहि तथ्यांक अनुसार नेपालमा एक हप्तामा मुस्किलले १५ देखि १७ हजार संक्रमित पहिचान हुँदै आएको छ।

पछिल्लो एक हप्ता अर्थात जेठ २३ देखि २९ मा २१ हजार ६७८ जनामा संक्रमण पुष्टि भएको छ, जुन दोस्रो लहरको संक्रमण उत्कर्षमा पुगेको बेलाको एक तिहाइ मात्र हो ।

दोस्रो तरंगमै एक समय एक हप्तामा ६१ हजार भन्दा बढी संक्रमित पहिचान भएको थियो। मन्त्रालयको तथ्यांक अनुसार वैशाख २६ देखि १ जेठसम्म ६१ हजार ८१४ जनमा संक्रमण पुष्टि भएको थियो र, यसलाई दोस्रो लहरको उच्चविन्दु मानिएको छ। 

माथि उल्लेखित तथ्यांकले पनि त्यस यता प्रत्येक साता संक्रमण ओरालो लाग्दै गएको देखिन्छ। संक्रामक रोग विज्ञ तथा वैज्ञानिक डा. समीरमणि दीक्षित पनि संक्रमण घटेको मत राख्छन्।

उनले भने, संक्रमित घट्दै गएको भन्ने तथ्यलाई अस्पतालमा रहेका बिरामीको तथ्यांकले पनि पुष्टि गर्छ। 

अस्पतालहरुमा आईसीयू लगायतका बेडहरु विस्तारै खाली हुँदै गएका छन्। अहिले चाप छैन र अर्को संक्रमित पहिचान गर्न गरिने परीक्षणमा २० प्रतिशत भन्दा कम संक्रमित पुष्टि हुदै आएको छ। 

यसलाई आधार मान्ने हो भनेपनि संक्रमण घटेको भने पक्कै हो तर, अझै पनि समुदायस्तरमा लक्षण भएका–नभएका एवं कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिहरु अझै पनि परीक्षणको दायरामा आउनु पर्छ।

ग्रामिण समुदायमा अझै भरपर्दो कन्ट्याक्ट ट्रेसिङ भएको देखिँदैन। अहिले सहरमा भन्दा पनि गाउँमा कोरोनाको जोखिम छ । त्यसतर्फ सरकारको ध्यान जानुपर्ने दीक्षितले थपे।

परीक्षण आधा भन्दा कममा झर्यो 
नेपालमा अहिलो ९० भन्दा बढी प्रयोगशालाबाट एकै दिनमा ३० तीसहजार भन्दा बढी व्यक्तिहरुको कोरोना संक्रमण पहिचान हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाउँदै आएको छ।

त्यस्तै एन्टिजेनसमेत जोड्दा ५० हजार भन्दा बढी मानिसको एकै दिनमा पीसीआर र एन्टिजेन परीक्षण हुन सक्छ। तर, पछिल्ला दिनमा सरकारले परीक्षण घटाएको छ। अहिले नेपालमा सरदर ७ हजार पीसीआर र ४ हजार एन्टिजेन परीक्षण हुँदै आएको छ।

मन्त्रालयको तथ्यांक अनुसार परीक्षण गर्ने कुल क्षमता भन्दा आधा मात्रै परीक्षण भइरहेको छ । मन्त्रालयका अधिकारी कोरोनाका लक्षण देखिएका व्यक्तिहरु पनि परीक्षण गर्न हिच्किचाउने गरेका कारण परीक्षण दर घट्दै गएको तर्क राख्छन्।

अधिकारीहरु स्थानिय तहहरुले बिना शुल्क र सरकारी अस्पतालहरुले न्युन शुल्कमा पीसीआर र एन्टिजेन परीक्षण गरिरहेको हुँदा कोरोना संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखिए परीक्षण गर्न सुझावसमेत दिएका छन्।

उनीहरु भन्छन्, ‘सरकारी स्वास्थ्य संस्थामा लक्षण भएका व्यक्तिको परीक्षण निःशुल्क गरिने व्यवस्था रहेको र समुदायस्तरमा परीक्षण गर्न एन्टिजेन किटको व्यवस्था गरिएको छ।’

Logo