मर्स्याङ्दी नदी थुनियो, मनाङकाे चामे झन् जोखिममा

मर्स्याङ्दी नदी थुनियो, मनाङकाे चामे झन् जोखिममा


चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ। वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

उनले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ।” चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो। 

माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ। थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ। यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ। सिङ्गो चामेबजार जोखिममा परेको छ। बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ। नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ। 

प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ। उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए। 

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए। लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए। त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए। 

हुम्रे प्रहरी चौकीसहित पाँच घर पूर्णरुपमा विस्थापित 

ङिस्याङ गाउँपालिकामा रहेको हुम्रे प्रहरी चौकी बाढीपहिराको जोखिममा परेको छ। गत सोमबारदेखि परेको अविरल वर्षाका कारण पालिकाको हुम्रे प्रहरी चौकी जोखिममा परेको हो । चौकी जोखिममा परेपछि सबै सामान सुरक्षित स्थानमा सारिएको छ। चौकीका साथै पाँच घर पूर्णरुपमा विस्थापित भएका छन्। 

विस्थापितलाई सुरिक्षत स्थानमा राखिएको गाउँपालिकाका जनस्वास्थ्य प्रमुख श्रीनारायण यादवले जानकारी दिए। जिल्लामा प्राकृतिक प्रकोप झनै बढ्दै गएपछि अब के गर्ने भन्ने विषयमा राष्ट्रिय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

Logo