निषेधाज्ञा खुकुलो भएसँगै कोरोना फेरि फैलिने सम्भावना कति?

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना फेरि फैलिने सम्भावना कति?


कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिन थालेपछि काठमाडाैँ उपत्यकामा गत वैशाख १६ गतेबाट सुरु गरिएको निषेधाज्ञा पटकपटक थपियो। तर केही सातायता तुलनात्मक रूपमा निषेधाज्ञा खुकुलो भएको छ।

अस्पतालहरूमा केही साताअघि चाप घटेको र एकदमै गम्भीर बिरामीको सङ्ख्या पनि कम भइरहेको विवरण सार्वजनिक भइरहेको छ। उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले सोमवारबाट सर्वसाधारण नागरिकलाई हिँडडुल र किनमेल गर्न थप सहज बनाइदिएका छन्।

तर यसरी खुकुलो बनाउँदा केही घटे जस्तो देखिएको सङ्क्रमितको सङ्ख्यामा अस्वाभाविक परिवर्तन हुन सक्ने आशङ्का पनि व्यक्त भएको छ।

सर्वसाधारणको आवागमन खुकुलो पारिएको अवस्थामा कतिपयले विभिन्न स्थानबाट मानिसहरू कोरोना भाइरसको "हटस्पट" मानिएको काठमाडाैँ उपत्यका फर्किँदा जोखिम बढ्न सक्ने बताइरहेका छन्। तर चिकित्सकहरू अहिले नै त्यस्तो भनिहाल्न मिल्ने अवस्था नरहेको बताउँछन्।

अहिले काठमाडाैँ उपत्यकामा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा देखिएको कमीका कारण "चेन ब्रेक" अर्थात्‌ कोरोना भाइरस सङ्क्रमणको विस्तार रोकिएको हो वा धेरैभन्दा धेरै मानिसको शरीरमा एन्टिबडी विकास भएर हो भन्ने कुराको सङ्केत क्रमशः देखिँदै जाने उनीहरूको भनाइ छ।

दुवै अवस्थामा एकाएक धेरै नै सङ्ख्यामा सङ्क्रमितहरू वृद्धि हुने सम्भावना भने "न्यून रहेको" उनीहरू बताउँछन्।

आउजाउ बढ्दा कोभिड फैलिन्छ कि फैलिँदैन?

सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी सुरक्षित बनाउने जनस्वास्थ्यका नीतिहरू धेरै लागु नगरिएको अवस्थामा काठमाण्डूमा अझै सङ्क्रमितहरू फेला परिरहेको र गतिविधि बढ्दा सङ्क्रमण अझै बढ्न सक्ने बताउँछन्। उनका अनुसार हाल उपत्यकावरपर वा अन्य विभिन्न स्थानका गाउँघरतिर सङ्क्रमण उच्च दरमा बढे जस्तो देखिएको छ।

"अनि त्यहाँबाट मानिसहरू यता आउँदा अलिकति सङ्क्रमण बढ्छ नै। तर त्यो कति धेरै हुन्छ भन्न चाहिँ गाह्रो छ," उनले बीबीसीसँग भने। लामो समयदेखि जारी गरिएको निषेधाज्ञा क्रमशः खुकुलो पार्दै लानुको विकल्प नभएको उनको भनाइ छ।

"तर खुकुलो गर्दै जाँदा हामीले सङ्क्रमण बढेको थाहा पाउँछौँ कि पाउँदैनौँ त? त्यस्तो कुरा थाहा पाउने हामीले संयन्त्र बनाएका छौँ कि छैनौँ? त्यो कुराहरू हामीले सोच्नुपर्ने थियो," उनले प्रश्न तेर्स्याउँदै भने।

"खुकुलो बन्दै जाँदा सङ्क्रमण थपिने र केही हदसम्म स्पाइक (वृद्धि) देखिने अवस्था रहे पनि धेरै मानिसहरू सङ्क्रमित भइसकेको अवस्थामा सानो उभार आए पनि त्यो धेरै दिगो भने हुँदैन होला। किनभने सङ्क्रमित बनाउन सक्ने मानिसको सङ्ख्या एकदमै कम छ," काठमाण्डू उपत्यकाको अवस्थाबारे सुवेदीले भने।

अहिले सर्वसाधारणले नै आफूलाई शङ्का लागेको अवस्थामा कोभिड परीक्षण गराइरहेका छन्। सरकारले भने परीक्षण गरिदिएको छैन। यस्तो अवस्थामा मानिसहरूलाई परीक्षण गर्न अलि सहज अनि सुलभ बनाइदिनुपर्ने चिकित्सकहरू बताउँछन्।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन पनि मानिसहरू देशका विभिन्न स्थानबाट काठमाण्डू उपत्यका आउँदैमा समस्या उत्पन्न नहुने आफ्नो ठम्याइ रहेको बताउँछन्।

"भाइरसको स्वरूप उत्परिवर्तन भएर नयाँ भेरिअन्ट, त्यो पनि एन्टिबडीलाई छल्न सक्ने खालको रहे अर्को लहर तान्न सक्छ। नत्र त दोस्रो लहर कम हुँदै गएको छ। काठमाण्डूमा धेरै मानिसहरूमा एन्टिबडी बनिसकेको भए गाउँबाट मानिसहरू आउँदैमा समस्या हुँदैन," उनले भने।

'हर्ड इम्यूनिटी' को सम्भावना कति?

खोप लगाएर वा धेरै जनसङ्ख्यामा सङ्क्रमण भएमा सामुदायिक प्रतिरोध 'हर्ड इम्यूनिटी' हासिल हुन सक्ने ठानिन्छ। कोरोनाभाइरसका हकमा पनि यो लागु हुने विज्ञहरू बताउँछन्। काठमाडाैँ तथा भिडभाड धेरै हुने स्थान वा सहरमा पछिल्लो समय सङ्क्रमण केही हदसम्म कम हुनुको कारण हर्ड इम्यूनिटी रहेको डा. सुवेदीको धारणा छ।

"भाइरसको भेरियन्टका लागि समुदायमा हाम्रो गतिविधिको मात्रा जति छ त्यसको लागि एउटा हर्ड इम्यूनिटीको थ्रेस्होल्ड (सीमा) हुन्छ। त्यो हामीले पार गरेर अहिले घटेको हो। अब गतिविधि बढाउँदा त्यो थ्रेस्होल्ड पनि अलि बढ्छ। अलि बढी मानिस सङ्क्रमित हुने सम्भावना बढ्छ," सुवेदीले भने।

अहिले नेपालमा देखिएको डेल्टा भेरियन्ट अत्यन्तै सङ्क्रमणशील रहेको विज्ञहरूले बताइरहेका छन्। भारतमा सुरुमा देखा परेको उक्त भेरिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको स्वास्थ्य मन्त्रालयले सोमवार बताएको छ।

उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई के४१७एन (K417N) नाम दिइएको छ। स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा "भेरियन्ट अफ कन्सर्न"का रूपमा अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) भेरिअन्ट तथा "भेरियन्ट अफ इन्ट्रेस्ट"का रूपमा कापा भेरिअन्ट (B.1.617.1) पुष्टि भएको छ। यी तीनवटै भेरियन्ट उच्च सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयले जनाएको छ।

चिकित्सकहरू समुदायमा लगभग ८५ प्रतिशत मानिसमा सङ्क्रमण हुँदा हर्ड इम्यूनिटीको एक तहमा पुगिने बताउँछन्।

"तर हर्ड इम्यूनिटी भनेको फेरि सङ्क्रमण नहुने भने होइन। सङ्क्रमण नभएका १५ प्रतिशत मानिस छन् उनीहरूलाई सङ्क्रमण हुने सम्भावना धेरै कम हुने भन्ने मात्रै हो। तर उनीहरू पनि सङ्क्रमितसँग सीधा सम्पर्क भए भने (सङ्क्रमित) हुन सक्छन्," सुवेदीले थपे।

खोप लगाएर वा जनस्वास्थ्यको काम कारबाही तगडा भएरभन्दा पनि हर्ड इम्यूनिटीको तहमा पुगेर महामारी कम भएको उनको भनाइ छ।

डा. पुन भने सङ्क्रमितहरूको सङ्ख्या घट्नुको कारण स्पष्ट भइनसकेको बताउँछन्। भाइरस विस्तारको "साङ्लो" भङ्ग भएर सङ्क्रमण घटेको हो वा धेरै मानिसहरू सङ्क्रमित भएको अवस्था हो भन्ने स्पष्ट हुन नसकेको पुनको भनाइ छ।

"निषेधाज्ञाले चेन ब्रेक गराएर (सङ्क्रमण) कम भएको हो भने निषेधाज्ञा खुकुलो हुनासाथ बढ्ने सम्भावना रहन्छ। किनभने त्यहाँ थप सङ्क्रमित हुन बाँकी छ भनेर बुझ्नुपर्‍यो," उनले भने।

"साँच्चै निषेधाज्ञाका कारण चेन ब्रेक भएको हो भने केही मान्छे अझै सङ्क्रमित हुन सक्छन्। तर धेरै सङ्क्रमित भइसकेका छन् भने ह्वात्तै सङ्ख्या बढ्ने सम्भावना भने कम देख्छु। घरघरमा कोरोनाभाइरस पुगेको कुरा सबैलाई थाहै छ जसले गर्दा धेरै मानिसमा एन्टिबडी विकास भइसकेको हुनुपर्छ।"

हाल सरकारले निषेधाज्ञा खुकुलो बनाएको र मानिसहरूको आवागमन नियमन गर्न समेत गाह्रो हुने हुँदा समस्या पर्न सक्ने बताइन्छ।

परीक्षण र अध्ययनको अवस्था के छ?

डा. पुनका अनुसार काठमाडाैँ उपत्यकामा सरकारले अवस्था थाहा पाउन एन्टिजन परीक्षणको साटो एन्टिबडी परीक्षण गर्नुपर्ने हुन्छ। सङ्क्रमण दर उकालो लाग्दै गर्दा एन्टिजन परीक्षण गर्नु ठिकै रहे पनि ओरालो लाग्दा भने परीक्षण विधि परिवर्तन गरिनुपर्ने उनको भनाइ छ।

"… जब यो ओरालोतिर लाग्छ, त्यो भनेको त धेरै मानिस सङ्क्रमित भएरै ओरालो लाग्ने हो। उदाहरणका लागि मलाई लाग्यो (कोरोनाभाइरस) रे। मेरो शरीरमा एन्टिबडी बन्नेवाला छ। यदि त्यस्तो हो भने कमसेकम यही लहरमा, यही ठाउँमा, यही समयमा फेरि दोहोर्‍याएर त हुँदैन। भनेपछि लकडाउनलाई बिस्तारै खोल्दै लाँदा पनि डराउँदै जानुपर्ने भएन। यो सामान्य कुरा हो," उनले भने।

हर्ड इम्यूनिटी भए नभएको थाहा पाउन "सीरोप्रिभलन्स सर्भे" अर्थात् कतिलाई सङ्क्रमण भइसक्यो भनेर रक्तपरीक्षण गर्न सकिने डा. सुवेदी बताउँछन्। उनका अनुसार यस्तो अध्ययन गर्न इच्छाशक्ति भएको अवस्थामा यस्तो अध्ययन गर्न गाह्रो हुँदैन।बीबीसीबाट

Logo