कति खतरनाक छ कोभिडको ‘डेल्टा प्लस भेरियन्ट’?

कति खतरनाक छ कोभिडको ‘डेल्टा प्लस भेरियन्ट’?


कोभिड–१९ को पहिलो लहर सन् २०१९ को अन्त्यतिर सुरु भयो। अपेक्षाअनुरुप नै दोस्रो लहर पनि सन् २०२१ को सुरुमा आइछाड्यो।

वातावरण, मानिसको रोग प्रतिरोधात्मक क्षमता आदिमा हुने परिवर्तनसँगै भाइरसमा पनि परिवर्तन भइरहन्छ, जसलाई म्युटेसन भनिन्छ। यसरी म्युटेसन भएर बनेका भाइरसका नयाँ भेरियन्ट दोस्रो लहरमा विश्वभरका मानिसले भोगेका कहरको मुख्य कारण हुन्।

विश्व स्वास्थ्य संगठनले सुरुमा कोरोनाभाइरसका चार भेरियन्ट पहिचान गरेर अल्फा, बिटा, गामा र डेल्टा नाम दिएको थियो। त्यसयता नयाँ भेरियन्टहरू देखापर्ने क्रम जारी छ। कोभिड–१९ को दोस्रो लहरमा भारत र नेपालले खेपेको सास्तीको मुख्य कारक भने डेल्टा भेरियन्ट हो। 

भाइरसमा म्युटेसन भइरहन्छ। सन् २०१९ मा देखा परेको कोरोना भाइरसको म्युटेसनबाट बनेको डेल्टा भेरियन्टमा पनि थप म्युटेसन भएर बनेको डेल्टा प्लस नामको भेरियन्ट अहिले देखा परेको छ। डेल्टा (बी.१.६१७.२) भेरियन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरियन्ट नेपाल, भारत, अमेरिका, बेलायत, जापान, पोर्चुगल, चीन, रुस लगायत ११ मुलुकमा भेटिएकोे छ। संसारभर २ सयभन्दा बढी व्यक्ति यस भेरियन्टबाट संक्रमित भएकामा एकजनाको मात्र मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय नागरिक छन्। 

डेल्टा प्लस भेरियन्टमा अन्य म्युटेसन पनि पाइएको र ‘एवाई.१’ त्यस्तो म्युटेसन भएका भाइरसमध्ये एक रहेको भारतीय सरकारले जनाएको छ। 

यो नयाँ भेरियन्ट बेलायतको सरकारी निकाय ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ले जुन ११ मा पत्ता लगाएको थियो। बेलायतले आफ्नो देशमा देखिएको डेल्टा प्लसका सुरुआती नमुना नेपाल र टर्की हुँदै गएका मानिसमा पाइएको बताएको थियो। 

डेल्टा प्लसको संक्रामक क्षमतालाई मध्यनजर गर्दै भारतका विज्ञले १२ देखि १६ हप्तामा तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन्। डेल्टा प्लस भेरियन्ट तेस्रो लहर ल्याउनमा जिम्मेवार हुनसक्ने उच्च सम्भावनाको आँकलन वैज्ञानिकले यसको उच्च संक्रामकता र यसमा देखिएको विशेष प्रकृतिको म्युटेसन (अर्थात् उत्परिवर्तन) को आधारमा गरेका हुन्।  

नेपालमा हालसम्म ९ वटा परीक्षण नमुनामा डेल्टा प्लस भेरियन्ट देखिएको र ९ जना संक्रमित नै निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी संक्रमित मानिस स्वस्थ भइसकेको अवस्थामा डेल्टा प्लस भेरिएन्टबाट खतरा छैन भन्ने सोझो अनुमान लगाउन मानिसका लागि सजिलो छ। तर, यसमा देखिएको म्युटेसनको प्रकृतिले यसको घातकताबारे फरक दृश्य अघि सार्छ।

डेल्टा प्लसको संक्रामक क्षमतालाई मध्यनजर गर्दै भारतका विज्ञले १२ देखि १६ हप्तामा तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन्।

डेल्टा भेरियन्टमा भेटिएको नयाँ म्युटेसनको नाम ‘के४१७ एन’ राखिएको छ । कोरोना भाइरसको मुख्य हतियार उसको सतहमा भएको स्पाइक प्रोटीन हो। यसैको सहाराले भाइरस संक्रमितको फोक्सोका कोषिकामा बस्ने गर्छ। डेल्टा भेरियन्टको स्पाइक प्रोटीनमा भएको म्युटेसनका कारण भाइरस फोक्सोको कोषिकाको रिसेप्टरमा झन् बलियोसँग टाँसिनसक्ने भएको छ। कुनै पनि म्युटेसनले भाइरसलाई कि कमजोर बनाउँछ कि  बलियो। डेल्टा भेरियन्टलाई बलियो बनाउने किसिमको म्युटेसन भएर डेल्टा प्लस बनेको हुनाले यो भेरिएन्ट डेल्टा भेरियन्टको तुलनामा अझ शक्तिशाली छ।   

नेपालमा डेल्टा प्लसबाट संक्रमित ९ जनामा बालबालिका र वृद्ध पनि रहेका छन्। तसर्थ, डेल्टा प्लसले बालबालिकादेखि बुढापाकासम्मका सबै उमेर समूहलाई संक्रमण गर्नसक्ने र विशेषगरी फोक्सोमा बढी असर पार्न सक्ने पुष्टि भइसकेको छ। पहिलो लहरमा देखिएको कोरोना भाइरसले वृद्धहरूमा बढी असर गरेको थियो भने दोस्रो लहरमा डेल्टा भेरियन्टले युवालाई असर गरिरहेको छ। बालबालिकालाई पनि असर पुर्याउन सक्ने गरी म्युटेसन भएपछि कोरोना भाइरसबाट कुनै पनि उमेर समूह सुरक्षित छैनन् भन्ने प्रस्ट भएको छ। 

केही अध्ययनका अनुसार कोभिड–१९ को उपचारका लागि प्रयोग हुने मोनोक्लोनल एन्टिबडी ककटेललाई छल्नसमेत डेल्टा प्लस भेरियन्ट सक्षम रहेको देखाएका छन्। भारतको इन्डियन सार्स–कोभ–२ कन्सर्टियम अन जेनोमिक्स (आइएनएसएसीओजी) का अनुसार पनि डेल्टा प्लस भेरियन्टको संक्रमण क्षमता र फोक्सोको कोषिकाको रिसेप्टर्ससँग टाँसिने क्षमता बढी छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि डेल्टा प्लस भेरियन्ट ‘असाधारण’ प्रकृतिको रहेको छ। डेल्टा प्लस भेरियन्टमा भएको म्युटेसन र संक्रामकताबारे अध्ययन जारी रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ।    

डेल्टा प्लस भेरियन्टमा खोप कतिको प्रभावकारी हुन सक्छ भन्नेबारे अनुसन्धान भारतमा पनि भइरहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। 

यद्यपि, टाइम म्यागजिनसँग कुरा गर्दै क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक डा. रविन्द्र गुप्ताले डेल्टा भेरियन्टमा देखिएको म्युटेसन  कोरोनाभाइरसका अल्फा र बिटा भेरियन्टमा पनि देखिइसकेको र त्यसले ठूलो केही समस्या नल्याएकाले डेल्टा भेरिएन्टमा भएको उस्तै प्रकृतिको म्युटेसनले ठूलो असर नगर्ने बताएका छन्। 

अर्काथरी वैज्ञानिक भने अहिले देखिएका प्रायः भेरियन्टमा खोपले काम गरेको देखिए पनि नयाँ भेरियन्टमा काम गर्ने कुनै निश्चितता नभएको बताउँछन्। खोप लगाएका व्यक्तिमा पनि संक्रमण देखिएकाले यस किसिमको संशय उत्पन्न भएको हो। पहिलेको संक्रमण वा खोपबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमतालाई डेल्टा प्लस भेरियन्टले माथ खुवाउनसक्ने चेतावनी भारतीय भाइरोलोजिस्ट प्राध्यापक साहिद जमिलले दिएका छन्। 

सुरुमा भारत सरकारले डेल्टा प्लसलाई ‘भेरियन्ट अफ इन्टरेस्ट’ (अर्थात् चासोको भेरियन्ट) का रूपमा अथ्र्याएको थियो। तर, आवश्यक सतर्कताका लागि डेल्टा प्लसलाई ‘भेरियन्ट अफ कन्सर्न’ (अर्थात् चिन्ताजनक भेरियन्ट) का रूपमा भारत सरकारले पहिचान गरिसकेको छ। 

डेल्टा प्लस भेरियन्ट तेस्रो लहरको कारण हुन सक्छ वा सक्दैन भन्ने कुरा यकिनसाथ भन्न नसकिने भए पनि यसमा भएको म्युटेसनका कारण यसबाट बच्नु नै उत्तम उपाय हुन सक्छ। कोभिड–१९ को दोस्रो लहरको चटारोपछि नेपाल र भारतमा जारी लकडाउन विस्तारै खुकुलो हुँदैछ। यस्तो अवस्थामा कोरोना भाइरसमा देखिएको घातक म्युटेसनले सेलाउँदै गरेजस्तो देखिएको महामारीलाई उग्र रूप नदेला भन्न सकिन्न। 

Skip This
Logo