मनसुनजन्य विपद्‍बाट २६ जिल्ला प्रभावित

मनसुनजन्य विपद्‍बाट २६ जिल्ला प्रभावित


मुलुकमा यसपालि मनसुन सुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म विपद्‌बाट मुलुकभर २७ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यस्तै १९ जना घाइते भएका गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन् । उनका अनुसार ४६२ घरमा पूर्ण क्षति पुगेको र ११० घरमा आंशिक क्षति भएको छ ।

बाढी र पहिरोबाट प्रभावित भएकामध्ये एक हजार ६०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट २६८ जना र सबै सुरक्षाकर्मीको प्रयासमा ४०० भन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसपालि बाढीपहिरोबाट प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लामा हेलिकप्टरमार्फत राहत पुर्‍याइएको थियो ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको निजी आवास पुनःनिर्माणलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भएर लागेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयबाट अहिलेसम्म तीन हजार ९४९ लाभग्राहीको निजी आवास पुनःनिर्माणका लागि १९ करोड ९७ लाख ७३ हजार रुपैयाँ वितरण गरिसकिएको छ । सोही प्रयोजनका लागि अर्थ मन्त्रालयबाट प्राप्त १० करोडमध्ये नुवाकोट जिल्लाबाट लाभग्राहीलाई अनुदान स्वरूपको वितरण कार्य प्रारम्भको तयारी गरिएको मन्त्रालयले आज सूचना जारी गरी जनाएको छ ।

यस वर्षमात्रै सोही प्रयोजनका लागि दुई करोड ८६ लाख विनियोजन भएको र सो वितरण प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ । मनसुनजन्य विपद्‌बाट बेपत्ता भएकाको खोजीलगायत जनधनको क्षतिको यथार्थ मूल्याङ्कन गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय क्रियाशील रहेको जनाइएको छ ।

Logo