मेलम्ची बाढीले ‘तेर्से मावि’को दुईवटा भवन बगायो, मुख्य भवन जोगाउने चिन्ता!

मेलम्ची बाढीले ‘तेर्से मावि’को दुईवटा भवन बगायो, मुख्य भवन जोगाउने चिन्ता!


असार १ गते साँझ हेलम्बुको सेम्सिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोपछि मेलम्ची नदीमा भीषण बाढी आयो। बाढीले हेलम्बु गाँउपालिका र मेलम्ची नगरपालिकामा व्यापक भौतिक तथा मानवीय क्षति पुर्याएको छ।

मेलम्ची नदीमा आएको आकस्मिक र अकल्पनीय बाढीले हेलम्बुको तिम्बु, किउल, चनौटे, ग्याल्थुम तालामाराङ र मेलम्चीमा ठूलो नोक्सान पुर्याएको छ। बाढीले यी क्षेत्रमा बसोबास गर्ने मानिसहरुको घरखेत, गाईवस्तुको गोठ बगाएको छ।

बाढी गएको दुई साता बितिसके पनि यस क्षेत्रका बाढीपीडितको आँखामा आँसु रोकिएको छैन। बाढीले हेलम्बु तथा मेलम्ची बजारकै अग्रणी तालामाराङस्थित तेर्से माविको दुईवटा भवन पनि बगाएको छ।  

बाढीले उक्त विद्यालय अझै उच्च जोखिममा रहेको छ। विद्यालयभन्दा २० मिटर तल रहेको खोलामा आएको बाढीले विद्यालय कम्पाउन्ड  कटान जारी राखेको छ। 

हेलम्बुदेखि मेलम्चीसम्मकै बालबालिका पढ्ने अग्रणी यस विद्यालयमा बाढीले क्षति पुर्याएपछि बाँकी रहेको विद्यालय भवनलाई खोला कटानबाट जोगाउने चिन्ता छ। बाढीको कटानबाट जोगाउन यस क्षेत्रका नागरिक र विद्यालय व्यवस्थापन लागिपरेका विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगानाले जानकारी दिए।

ढुंगानाका अनुसार विद्यालयले कोरोना महामारीमा समेत अनलाइन तथा अन्य माध्यमबाट समेत शैक्षिक गतिविधि सञ्चालन गरिरहेको थियो। उनले भने, ‘विद्यार्थी भर्ना, अनलाइन कक्षा, पुस्तक वितरणलगायत गतिविधि विद्यालयले सक्रियरुपमा अगाडि बढाएको थियो। 

असार १ गते साँझ मेलम्ची नदीमा आएको बाढीले विद्यालय भवन नै बगाएपछि मुख्य भवन मात्रै बाँकी रहेको छ। अब विद्यालयका बाँकी भौतिक संरचना जोगाउनका लागि खोलाले कटान गरेको भागमा तार जाली भरेर रोक्ने प्रयास गरिरहेका छौं।’

उक्त विद्यालयलाई यसअघि मेलम्ची नगरपालिकाले नमुना विद्यालय घोषणा गरेको थियो। तेर्से माविले गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रुपमा पहिचान बनाएको छ।  ग्याल्थुम तालामाराङमा विद्यालय मात्रै नभएर प्रहरी चौकी र स्थानीयको घरसमेत जोखिममा परेको छ। 

बाढीले विद्यालयमा भौतिक क्षति पुर्याएपछि यस क्षेत्रका हजारौं विद्यार्थीको पढाइ प्रभावित भएको छ। भौतिक क्षति भए पनि विद्यालय यस क्षेत्रका विद्यार्थीको भविष्यसँग जोडिएकाले संरचना जोगाउँदै शैक्षिक गतिविधिलाई निरन्तरता दिने प्रयासमा रहेको ढुंगानाले बताए।

विद्यालय जोगाउनका लागि यस क्षेत्रका नागरिकले तारजाली भर्ने काम सुरु गरेको उनले बताए। विद्यालय जोगाउन सके अन्य बस्तीसमेत जोगिने उनको भनाइ छ। 

सुरुमा स्याउलाले बारेर र खरले छाएर २०४७ सालमा यो विद्यालय स्थापना गरिएको थियो। विभिन्न संघसंस्था, दातृ निकाय र अभिभावकको पहलमा विद्यालयको भवन निर्माण गरिएको थियो। २०७२ सालको भूकम्पले विद्यालयको सम्पूर्ण भौतिक संरचना भत्काएको थियो। विद्यालयलाई विभिन्न समयमा आएको प्राकृति विपतिले छाडेको छैन। अहिले पनि विद्यालयको अवस्था दर्दनाक रहेको छ।

विद्यालयका प्रधानाध्यापक ढुंगाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्छन्। भूकम्पका बेलाजस्तै यसपालि पनि आमअभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायतले सहयोग गर्दै आएका छन्। खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन निरन्तर काम गरिरहेको उनले जानकारी दिए।

यसैगरी, हेलम्बु गाउँपालिका–४, ढुंगे बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी बोर्डिङ स्कुल पूर्ण रुपमा बाढीले बगाएको छ। बाढीले संरचना बगाएपछि तत्काल पठनपाठनको सम्भावना नरहेको स्कुलले जनाएको छ।

Logo