उदयपुरमा ११ वर्षमा सम्पन्न हुनै लागेको पुल बाढीले भत्कायो, ५ सय घर डुबानमा

उदयपुरमा ११ वर्षमा सम्पन्न हुनै लागेको पुल बाढीले भत्कायो, ५ सय घर डुबानमा


उदयपुरको चौदण्डीगढी नगरपालिका वार्ड नम्बर ५ को सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथिको २८४.६ मिटर लामो पुल बाढीले भत्काएको छ। शनिबार राति सुरु भएको वर्षाका कारण आएको बाढीले पुलको एउटा पिलर कोल्ट्याएपछि पुल भत्किएको हो। 

महालक्ष्मी लोकप्रिय जोइन्ट भेन्चरले निर्माण गरिरहेको पुल को अन्तिम पिल्लर राख्ने काम अघिल्लो महिना मात्रै सकिएको थियो। 

वि.सं.२०६७ सालमा तत्कालिन उप–प्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने गरी त्रियुगा पुलको शिलान्यास गरेका थिए। यद्यपि, ठेकेदारको लापर्वाहीका कारण शिलान्यास भएको ११ वर्ष लाग्दासम्म पनि पुलको निर्माण सम्पन्न हुन सकेको थिएन।

‘बल्लतल्ल बनेको पुल तर्नै नपाई भत्कियो’ भन्दै स्थानीयबासीहरू आक्रोसित एवम् दुःखी भएका छन्। 

५ सय घर डुबानमा

लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।  बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेका हुन्। बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। 

तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेस्वरीका जसबहादुर श्रेष्ठले बताए। त्यस्तै स्थानीयवासी राजकुमार भुजेलका अनुसार ती खोलामा आएको बाढीले तपेस्वरी क्षेत्र डुबानमा पर्नुका साथै जग्गा कटान गर्न थालेको छ। 

स्थानीय खोलाहरुमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयवासीलाई सर्तकता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सीलाका प्रमुख तेजबहादुर कटुवालले बताए।

बाढीले बगाउँदा ६५ वर्षीय वृद्धको मृत्यु

उदयपुरकै चौदण्डी गढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। अर्काे गाउँ जानका लागि खोला तर्ने क्रममा उनलाई आज बिहान १० बजेतिर बाढीले बगाएको थियो।

Logo