मर्स्याङ्दी नदीको पुल भासिँदा मनाङमा खाद्यान्न ढुवानी रोकियो

मर्स्याङ्दी नदीको पुल भासिँदा मनाङमा खाद्यान्न ढुवानी रोकियो


नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ। लगातारको वर्षासँगै आएको बाढीले  पुल भासिएको हो। पुल भासिँदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ। 

यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि  २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।

उनले भने, “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो। यहाँ सवारी आवगमन हुँदैन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ। अहिले मर्स्याङ्दीको बाढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ।” 

बाढीपहिरोका कारण नार्पाभूमिका चार पुल मध्ये तीन  वटा बगाइसकेको छ। नार्पा जोड्ने मुख्य पुल पनि अहिले भासिएर हिँड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन्। यहाँका सबै बाटोघाटो र पुलहरु भासिनुका साथै बगाएपछि अहिले खाद्यान्न ढुवानी गर्न समेत रोक लगाइएको छ । नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मर फुन्चो लामाले उक्त स्थानमा खाद्यान्न ढुवानी गर्दा दुर्घटनाको सम्भावना रहेकाले आवागमनमा रोक लगाइएको जानकारी दिए। यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन्। 

जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पुर्याएको जनाइएको छ।  मर्स्याङ्दी नदी लगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ। नासोँ , चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ। 

बाढीले भत्काएका सडक अझै बनेनन् 

विनासकारी बाढीले क्षतविक्षत बनाएको जिल्लाको सडक सम्पर्क अझै जोडिन सकेको छैन। बाढीले ठाउँठाउँमा सडक भत्काएकाले अन्य जिल्लासँग सडक सम्पर्क बिच्छेद भएको छ। बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङदेखि मनाङको माथिल्लो मनाङसम्मका विभिन्न स्थानमा बाढीले भत्काएका सडक सुचारु हुन सकेका छैनन्।  सो सडकखण्ड पहिरोले ठाउँ ठाउँमा क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। 

उनका अनुसार केही ठाउँमा बाढीले सडक बगाएको छ । ती सडक तत्काल सुचारु हुने  सम्भावना नरहेको बताइएको छ  । यही असार सडक अवरुद्ध हुँदा  खाद्यान्नलगायत अत्यावश्यक सामानसमेत हेलिकप्टरको माध्यमबाट ल्याउनुपर्ने बाध्यता  छ । सो सडकखण्डको ४० प्रतिशत सडक अवरुद्ध भएको जनाउँदै सडक सञ्चालन हुन एक महिना लाग्ने देखिएको छ । बाढीले मस्र्याङ्दी नदी अन्य खोलानलामाथि बनेको बेलिब्रिज, झोलुंगे पुल, लघु जलविद्युत् र खानेपानीको पाइप बगाएको छ।

चामेमा अस्थायी बाटो बनाउन थालियो

मर्स्याङ्दी नदीको पानीको बहाब कम भएपछि सदरमुकाम चामेमा आवतजावतका लागि बाटो बनाउन थालिएको छ। बाढीले भौतिक संरचना, व्यक्तिगत घर, सरकारी कार्यालयका भवन, बस्ती उजाडिएको छ। वर्षा कम भएसँगै नदीको सतह पनि घटेपछि आवतजावतमा सहज बनाउनका लागि चामे गाउँपालिकाका विभिन्न स्थानमा घोडेटो  निर्माण थालिएको प्रजिअ  लामिछानेले जानकारी दिए। “मनाङ सडक सञ्जाल टुटेको छ, अस्थायी पुल, सडकहरु पूर्ण रुपमा देखिँदैन, आज पानी पर्न कम भएको छ, स्थानीयलाई खाद्यान्न ल्याउन, लान सहज बनाउन बाटो निर्माण थालिएको हो,” उनले भने।रासस

Logo