काठमाडौंका खोपकेन्द्र अस्तव्यस्त, लाइन बस्नेको भीडले जोखिम झन बढ्यो

काठमाडौंका खोपकेन्द्र अस्तव्यस्त, लाइन बस्नेको भीडले जोखिम झन बढ्यो


कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ। सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सूचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौंले खोप लगाउन नपाइ फर्कनु पर्यो। 

उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल, टेकु लगायत १३ स्थानमा काठमाडौं महानगरपालिकाले खोप केन्द्र तोकेको थियो। खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापन देखि आक्रोशित बनेका थिए। उनीहरुले सरकारले सही सूचना नदिएका कारण आफूहरुले दुःख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए।

मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजेदेखि लाइन बसेर २ बजेसम्म पनि खोप लगाउन पाएनन्। खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आक्रोश पोखे।

बानेश्वरका तेजबहादुर दाहाल पनि बिहान ६ बजे निजामति अस्पताल खोप केन्द्रमा लाइन बसे तर दिउँसो २ बजेसम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोखे। उनले प्रशासनलाई विश्वकै नायालक भनी टिप्पणी गरे।

आलोकनगर टोल सुधार समितिका अध्यक्षसमेत रहेका डिआर पोखरेल बिहान ३ बजेदेखि खोप लगाउन लाइन बसे पनि दिउँसोसम्म खोप लगाउन पाएनन्। बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा ५ सय मात्रै खोप लगाउने सूचना निकालेपछि उनको धैर्यता टुट्यो। सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध गरे।

अर्का एक जनाले ग्राण्डीबाट र धुलिखेलबाट कालोबजारी गरेर प्रति खोप १० हजारमा खोप बेच्ने गरेको सूचना आफूले पाएको भन्दै त्यसबारे खोज गर्न सञ्चार क्षेत्रलाई आग्रह गरे। उनले नागरिकलाई तड्पाई तड्पाई मार्न खोजेको आरोप लगाए।

पुण्यप्रसाद भट्टराईले आफू बिहान ६ बजेदेखि लाइन बसे पनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाइन बसेपछि खोप लगाउन पाएको बताए।  

सरकारले स्थानीय सरकारमार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सूचना निकालेको थियो। काठमाडौं महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ। महानगरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुःख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ।

Logo