अविरल वर्षाले डेढ करोडकाे बाली नष्ट

अविरल वर्षाले डेढ करोडकाे बाली नष्ट


हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्‍याएको हो । निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए ।

उनले भने, “गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाले नार्पाका बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । बाली लगाएको ठाउँमा सबै पानी जलमग्न भएको छ । खेत सबै भत्किएका छन् । निर्वाहमुखी र स्थानीय व्यावसायिक रूपमा खेती लगाएका किसानको बाली निरन्तरको वर्षाले नष्ट गरिदिएको हो ।” 

गाउँपालिकाको पाँच वडामध्ये सबैभन्दा नार्पाभूमि गाउँपालिका–१ नारमा अहिलेको वर्षाले बालीमा ठूलो क्षति पुर्‍याएको उनले जाकारी दिए । उनले भने, “नार्पाको वडा नम्बर १ नारमा यो वर्षाले किसानले लगाएका कोरु, आलु र तोरी बर्वाद बनाएको छ । चक्लाबन्दी गरेर लगाएका सो बाली पानीको मात्रा अत्याधिक भएर कतै कुहिएको छ, त कतै खेत भत्किएर पुरिएको छ ।” 

उनले थपे, “हिमाली भेग नार्पाभूमीको मुख्य बाली भनेको कोरु हो । यहाँ कोरु राम्रोसँग उत्पादन हुन्छ । यो बाली जौँ जस्तै हो । यहाँका नागरिक धेरै जसो कोरुमा नै निर्भर हुन्छ तर लगातारको वर्षाका कारण कोरु बालीमा नै ठूलो क्षति पुर्‍यायो । उक्त बालीमा क्षति पुग्दा यहाँका किसान निराश भएका छन् ।” 

Logo