रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज बाँके प्रहरीले संरक्षित रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

बाँके प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर कारोवारमा संलग्न मानिसहरुलाई सार्वजनिक गरेको हो। लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो। 

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक रहेको राप्ती गेष्टहाउसको कोठा नं. १० बाट दाङ्ग घोराही उपमहानगरपालिका वडा नं. ४ का ४९ वर्षिय भक्तबहादुर पुन, ४१ वर्षिय केशव पुन र शान्तिनगर गाउपालिका–१ का २१ वर्षिय रोबिन बुढालाई शनिबार राति पौने ९ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी गराए। प्रहरीले उनीहरुको साथबाट संरक्षित रेड पण्डाको छाला १ थान, भालुको पित्त जस्तो देखिने वस्तु ४ थान बरामद गर्न सफल भएको जनाएको छ।

प्रहरीले बरामद सामानसहित तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय बाँकेमा पठाउने जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका ३ जनामाथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ। 

बाँके प्रहरीले असार महिनामा मात्रै चरीबाघको छाला, चितुवा प्रजातिको छाला, रेड पण्डाको छाला र भालुको पित्त जस्ता संरक्षित र दुर्लभ वन्यजन्तुको चोरी सिकारीको अभियोगमा विभिन्न मितिमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २८ असार २०७८ १३:०२ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी