सरकारले साउन १५ भित्र ३२ लाख डाेज खोप ल्याउने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

सरकारले साउन १५ भित्र ३२ लाख डाेज खोप ल्याउने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै


सरकारले चीनबाट साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ। चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत साउन १५ गतेभित्र ल्याउन लागिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिए। गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन सुरु गरिएकाेमा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उनले बताए। निगमको वाइडबडी जहाजले साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ।

उनका अनुसार चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ बजे गएर अर्काे दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ। यस्तै साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ वा १० गते खोप नेपाल ल्याइने छ। यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो।

छिट्टै कोभिशिल्डको दोस्रो मात्रा

यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा छिट्टै दिइने बताए। उनले खोप केही दिनमा नै प्राप्त हुने जनाउँदै खोपको प्रतिक्षा गरिरहेका सबै ज्येष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताए।

उनले कोभिशिल्डको दोस्रो मात्राका रूपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाइने बताए। जापान सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ। भारतको सिरम इन्स्टिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन्।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो। मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी तथा एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए।

कोभ्याक्समार्फत कहाँ–कहाँबाट खोप?

नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन्। अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन्।

नेपालले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो। यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार मात्रा खोप प्राप्त भएको थियो। यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ। नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ।

यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए। कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो। मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ।

चीन र अमेरिकाबाट प्राप्त भएको खोप असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो। भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ। नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ व्यक्तिले लगाइसकेका छन्। सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ। 

Logo