मस्तिष्कघात भई उपचाररत पोखराका नगर प्रमुख जिसीको शल्यक्रिया हुँदै

मस्तिष्कघात भई उपचाररत पोखराका नगर प्रमुख जिसीको शल्यक्रिया हुँदै


उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया हुने भएको छ। 

मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ ल्याइएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका जिसीको अस्पतालका न्यूरोसर्जन डा सुरज थुलुङ र डा शेखर श्रेष्ठसहितको टोलीद्वारा शल्यक्रिया भइरहेको छ।

शुक्रबार बिहान करीब ४ बजेको समयमा शरीरमा असहज महसुस भएपछि तत्काल पोखराको महेन्द्रस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो।

मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उनको शरीरको देब्रेतर्फ समस्या देखिएको थियो। उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका प्रमुख जिसीलाई थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो। 

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतका विभिन्न सङ्घसंस्थाले विज्ञप्तिमार्फत महानगर प्रमुख जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।रासस

Logo