आज हरिशयनी एकादशी : तुलसीरोपण दिवस

आज हरिशयनी एकादशी : तुलसीरोपण दिवस


प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने विश्वास रहेकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् । 

आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।

यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ ।

आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।

रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।

राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।
 

Skip This
Logo