0 Shares

महाकालीमा तुइनकै भर

दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नु परेको छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नु परेको हो । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए । घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन् । बर्खाको उर्लंदो महाकालीमा स्थानीयवासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नु परेको छ ।

यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जानसमेत तुइनको मात्रै भर छ । पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ । बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनैपर्ने बाध्यता छ । “तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्”, व्याँस गाउँपालिका–२ का मुकेश बुढाथोकीले भने, “तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले । तर पुल बन्ने सपना जस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसवासीलाई ।” 

उनका अनुसार डोरी चुँडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो । कैयौँ महाकालीमा बेपत्ता पनि भएका छन् । फलामे तार खोलावारिपारि लगाइएको हुन्छ । फलामे तारमाथि रसी अर्थात् स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ । कैयौँले यही तुइनमा अड्क्याएको ताङ्लो चुँडिएर ज्यान गुमाउँछन् । 

यस क्षेत्रमा हरेकको घरघरमा व्यक्तिगत रुपमा ताङ्लो बनाइएको हुन्छ । खलङ्गा आउँदा झोलामा लिएर आउनुपर्छ । आउँदा जाँदा नदीवारपार गर्ने साधन नै ताङ्लो हो । व्यासको दुम्लिङमा नेपाल भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो । तर जब कोरोना कहर सुरु भयो, भारतले काठेपुल भत्काइदियो । त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नुपरेको छ ।

“पटकपटक नेताका आश्वासन आए, पञ्चायती बहुदल हुँदै गणतन्त्रमा देश पुग्यो, नेताका भाषण परिवर्तन भएका छैनन्, पुल बनाउँछौँ भनेकै छन् तर पुल कहिले बन्ने हो थाहा छैन”, स्थानीयवासी कल्यानसिंह धामीले भने । उनले घरमा चाहिने नून, चामल, साबुन तेलदेखि घर निर्माणमा प्रयोग गरिने जस्तापाता सरिया सिमेन्ट यही तुइनको सहारामा ल्याउनुपरेको बताउनुभयो । “मैले यही तुइनमार्फत मान्छे र समान ओसारपसार गरेको पनि वर्षौं भइसक्यो”, उनले भने ।

उनले बर्खाको समयमा नदी वारपार गर्न निकै डर छ । ज्यानकै बाजी राखेर वारपार गर्नुपर्ने बाध्यता छ । तुइन नभए खानलाई अन्न हुँदैन । चामल त्यही भारत गएर ल्याउने हो भने । दुम्लिङका बुढाथोकीले भने, “नेपालतिरबाट खच्चड आउने बाटोसमेत भत्किसक्यो । व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरुद्ध भएको छ । गाउँमा चामल पाउँदैन । तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ ।” उनका अनुसार भारतीय एसएसबीले देख्नेबित्तिकै समातिहाल्छन् । उनीहरूको आँखा छलेरै ओसारपसार गर्नुपर्ने बाध्यता छ । अहिले बर्खाको समयमा त निकै सास्ती खेप्नुपरेको छ । 

अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ । यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नु परेको हो । 

प्रकाशित: ६ श्रावण २०७८ २१:०७ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी