एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट जडान

एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट जडान


महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट जडान गरि आजदेखि सञ्चालनमा आएको छ। 

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रालिसँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाइटको आजै एक कार्यक्रमका बीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिइओ अनोज रिमालले संयुक्तरूपमा उद्‍घाटन गरेका हुन्।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए। 

प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए।

हामी ट्राफिक व्यवस्थापनलाई प्रविधि तर्फ लैजान प्रयासरत छौं, सम्बन्धित सरोकारवाला निकाय बाहेक विभिन्न संघ संस्था, बैंक वित्तिय कार्यालयहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौं । त्यसैको परिणामस्वरुप आज हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको मुलगेटमा लाइट जडान गरि संचालनमा ल्याएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट जडान गर्न हातेमालो गर्ने योजना रहेको एसएसपी भट्टराईले उल्लेख गरे।

कार्यक्रममा बोल्दै एयरलाइन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भुमिका खेल्ने बताए। उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे।

कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाइटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पछिल्लो समय प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडान कार्यमा महाशाखाले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे।

उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाइन्सका पदाधिकारी, स्थानिय निकायका सदस्य र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्युनिकरणका लागि आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाइट जडानका लागि समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ।

Logo