जनयुद्धमा बेपत्ता भएका व्यक्ति १७ वर्षपछि घर फर्किए

जनयुद्धमा बेपत्ता भएका व्यक्ति १७ वर्षपछि घर फर्किए


वालिङका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर फर्किएका छन्। नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका–६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन्।

जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँडेका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताइन्। “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भनिन्, “उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं।” घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले बताइन्।

दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो। 

त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका–२ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि आयोगमा उजूरी परेकामा उनी पनि परिवारसँगै रहेको पाइएको थियो। पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए।रासस

Logo