तीन वर्षदेखि फेला परेनन् निर्मला पन्तका हत्यारा

तीन वर्षदेखि फेला परेनन् निर्मला पन्तका हत्यारा


भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको आइतबार तीन वर्ष बितेको छ । तर अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। 

साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा फेला परेको थियो । ‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै उनका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आइतबार दिउँसो महेन्द्रनगर बजारमा र्‍याली निकालेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला प्रकरणको सघन रुपमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको थियो । त्यस्तै, जिल्ला प्रहरी कार्यालयमा आउने प्रहरी नायब उपरीक्षकलाई अनुसन्धान अधिकृत खटाएर जिल्लास्तर र प्रदेशबाटसमेत घटनाका अनुसन्धानमा प्रहरीको छुट्टा छुट्टै टोली परिचालित छ । 

स्मरण रहोस्, घटनामा संलग्नता रहेको जनाउँदै प्रहरीले घटनाको चौथो साता भीमदत्त नगरपालिका-१९ बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरिएको थियो । मानसिक अवस्था ठीक नभएका विष्टलाई अभियुक्त बनाएको आक्रोशमा आन्दोलन चर्कियो । अभियुक्त विष्टको डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले रिहा गरेको थियो । 

निर्मला हत्याको मुलुकभर आन्दोलन भइरहँदा महेन्द्रनगरमा प्रहरीको गोली लागेर भीमदत्त-१८ सालघारीका सनी खुनाले ज्यान समेत गुमाएका थिए । सुदूरपश्चिम प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आउने प्रहरी अधिकारीले निर्मला प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउने विषय प्राथमिकतामा राख्दै अनुसन्धान थाल्ने गरेको भए पनि अझै अपराधी पत्ता लाग्न भने सकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपाने भन्छन्, ‘दोषी उम्किन पाउँदैन ।’ रासस

Logo