१४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

१४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण


चिकित्सकहरुले १४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्था निम्त्याउन सक्ने खतरा रहेकोले तत्काल सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक दीक्षितले १४ वर्ष माथिको उमेरका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको आवश्यक व्यवस्था तत्काल गर्न आग्रह गरे। 

त्यसैगरी चिकित्सक डा.सागर भण्डारीले नेपालमा एक महिनाभित्रै कोरोनाको तेस्रो लहर आउन सक्नेतर्फ सचेत गराए। उनले तेस्रो लहरबाट जनतालाई बचाउन तीनै तहको सरकारले गम्भीर भएर स्वास्थ्य सुरक्षाका मापदण्डसँगै खोपलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए।

वरिष्ठ चिकित्सक डाक्टर वासुदेव पाण्डेले कोरोनाविरुद्धको खोप नेपालमै उत्पादन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। खोपको उत्पादन देशभित्रै हुन नसके यसले भयावह रुप लिने उनको तर्क थियो। “कोरोना खोप स्वदेशमा उत्पादन गर्ने व्यवस्था तत्काल गरौं। नभए कोरोना महामारीको संक्रमण नेपालमा झनै बढेर जानसक्छ। सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउने, बढी प्रभावित क्षेत्रहरुमा नियन्त्रणका लागि विशेष निगरानी राख्ने काममा विशेष ध्यान दिनुपर्दछ।”

चिकित्सकहरुले सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर कोरोना संक्रमणको दर बढ्न थालेको भन्दैै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सार्वजनिक यातायातको साधनमा भीड हुन थालेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारको ध्यानाकर्षणसमेत गराएका छन्। 

Logo