सुनसरीमा कोरोनाको तेस्रो लहरको जोखिम, एक सातामै एक हजार बढी संक्रमित थपिए

सुनसरीमा कोरोनाको तेस्रो लहरको जोखिम, एक सातामै एक हजार बढी संक्रमित थपिए


निषेधाज्ञा खुकुलो बनाइएसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। 

सुनसरीमा एक साताभित्र एक हजार बढी संक्रमित थपिएका छन्। जिल्लामा सबै भन्दा बढी धरान र इटहरीमा कोरोना संक्रमित भेटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। असावधानी र हेलचेक्राईंका कारण जिल्लामा पुनः संक्रमण फैलने खतरा बढेपछि नियन्त्रणका लागि प्रयास भइरहेको ढकालले बताए।

उनले भने, “लकडाउन खुकुलो भएसँगै धरान र इटहरीमा कोरोना संक्रमितको संख्या बढीरहेको छ, सक्रिय संक्रमितको संख्या पनि २ हजार पुगिसकेको छ, त्यसैले हामीले विभिन्न छलफल र तयारी गरिरहेका छौँ, सवारीसाधन चल्न थालेपछि मानिसहरुको आवतजावतले संक्रमण बढेको स्थिती हो।”

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले संक्रमण दरको वृद्धि हेर्दा कोरोनाको तेस्रो लहरको आशंका गरिएको बताए। उनले सवारीसाधन र होटल सञ्चालन खुल्ला गरिएकाले संक्रमित बढेको तर्क गरे।

उनले भने, “अब हामीले डिसीसीएमसीले गरेको निर्णयले गाडी चल्यो, होटल सञ्चालन हुन थाल्यो, यसले संक्रमित बढ्न थाले, मृत्यसदर घटेको छैन, हामीले गम्भीरतापूर्वक नलिने हो भने, अझै भयावह हुनसक्छ, अझै यो केस बढेर पीकमा जान थाल्यो भने थर्ड वेभ आएको हो कि भन्ने शंका गरेका छौँ।”

सुनसरीको धरानमा कोरोना संक्रमित बढ्दा बजार पसल खुल्ने समय घटाइएको छ भने इटहरी उप–महानगरपालिका र वडा कार्यालय तत्कालका लागि बन्द गरिएको छ।

Logo