प्रहरीद्वारा नवलपरासीबाट ३१ हजार केजी हरियो केराउ बरामद

प्रहरीद्वारा नवलपरासीबाट ३१ हजार केजी हरियो केराउ बरामद


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ। नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजार केजी केराउ नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा  बरामद गरिएको हो। बुधबार सातवटा पिकअप र एउटा ट्रकमा लैजाँदै गरिएको उक्त केराउको बजार मूल्य रु ३८ लाख ७५ हजार रहेको उनले बताए। सातवटा पिकअप भैरहवाबाट ल्याउँदै गर्दा परासीको सीमा क्षेत्र र एउटा ट्रकमा केराउ अनलोड गरिरहेकै अवस्थामा सेमरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार ती पिकअपमध्ये छ वटा भैरहवास्थित शिवशङ्कर इन्टरप्राइजेजबाट नवलपरासीको भारतीय सीमा क्षेत्रस्थित प्रतापपुर गाउँपालिका–५ को श्रीराम इन्टरप्राइजेज, अम्बे इन्टरप्राइजेज र सोनु एण्ड मोनु जनरल स्टोर्सका लागि लैजान लागिएको थियो भने एउटा पिकअपको केराउ शुभगणपति टेडर्स रामग्राम–१० बाट भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दनको पडरीतफै लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो।

यस्तै प्रतापपुर–२ मा एसएस इम्पेक्स वीरगञ्जबाट रकिरोशन जनरल स्टोर्स प्रतापपुरतर्फ लैजान अनलोड गरिरहेका अवस्थामा आधा ट्रक केराउ नियन्त्रणमा लिइएको हो। बरामद गरिएका केराउको आवश्यक अनुसन्धानका लागि महेशपुर भन्सार वा राजश्व अनुसन्धान कार्यालयमा चलान गर्ने तयारी गरिएको प्रनाउ लामाले जानकारी दिए।

केही दिनअघि पनि भारतीय सीमा क्षेत्रबाटै प्रहरीले १८ हजार केजी हरियो मटर छ वटा पिकअपसहित नियन्त्रणमा लिएको थियो। प्रहरीले पटकपटक ठूलो परिमाणमा हरियो केराउ बरामद गर्दै आए पनि तेस्रो मुलुकबाट आउने  केराउको तस्करी रोकिएको छैन। तेस्रो मुलुकबाट सस्तोमा नेपाल आउने केराउ भारतमा महङ्गोमा बिक्री हुने भएकाले  केराउको तस्करी अत्यधिक हुने गरेको बताइएको छ।रासस

Logo