रोजगारीको आशमा जब दुई किशोरी बेचिए…

रोजगारीको आशमा जब दुई किशोरी बेचिए…


झापाकी १६ वर्षीया एक किशोरी रोजगारीको खोजीमा थिइन्। विपन्न परिवारकी उनलाई बाँच्नकै लागि रोजगारी आवश्यक थियो।

उनी जस्तै अर्की २० वर्षीया किशोरी पनि रोजगारीको खोजीमा थिइन्। ठाउँ ठाउँमा रोजगारी नखोजेकी पनि होइनन्। तर, सोचेजस्तो नभेटेर हैरान थिइन्। 

यत्तिकैमा उनीहरूको चिनजान झापाकै विर्तामोडकी २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी–१२ कि १९ वर्षीया खुस्बु विश्वकर्मासँग भयो।

उनीहरूले वीरगञ्जको अर्केष्ट्रामा आकर्षक तलब दिने र कामदार आवश्यक रहेको बताए । 

जिल्लाकै यी दुई जनाको कुरामा रोजगारीको खोजी गर्ने दुवै किशोरीले विश्वास गरे र यही साउनको ४ गते गए। 

तर, किशोरीहरूलाई उनीहरूले भारतको विहार राज्यस्थित छौँडादानो ठाउँ पुर्याइन्। जुन ठाउँलाई वीरगञ्जको अर्केष्ट्रा भनिएको र त्यहाँ बेचविखन गरेर फर्केको सूचना यही साउनको १० गते पाइएको पर्सा प्रहरीले जनाएको छ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट उद्दार टोली सोही दिन बेचविखनमा परेको भनिएका किशोरीहरू भएको ठाउँमा गएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

उनका अनुसार खटिएको प्रहरी टोलीले भारतीय काउन्टर पार्टससँगको सहकार्य गर्यो र बेचविखनमा परेका दुवै किशोरीहरूलाई उद्धार गर्यो।

तिनै किशोरीहरूको उजुरीका आधारमा पर्सा प्रहरीले बेचविखन गरेको आरोप लागेका दुवै जनालाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको छ।

उद्धार गरिएका किशोरीहरू माइती नेपाल वीरगञ्जको संरक्षणमा छन्। बेचविखन गरेको आरोप लागेपछि पक्राउ परेका दुवैलाई भने मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान थालेको डीएसपी खनालले केन्द्रविन्दुलाई बताए।

Logo