यी भारतीय युवतीलाई जसले बुबा बनेर नागरिकता दिलाए

यी भारतीय युवतीलाई जसले बुबा बनेर नागरिकता दिलाए


जिल्ला प्रशासन कार्यालय पर्साले कविता कुमारीलाई २०७० पुस ११ गते नेपाली नागरिकता दियो।

हरेक नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र पाउने हक संविधानसम्मत् भएकोले कार्यालयले रीतपूर्वक आएको कागजातका आधारमा नागरिकता दिएको हो। कुमारीले पाएको नेपाली नागरिकताको प्रमाणपत्र नम्बर ३४–०१–७०–१०३५२ हो।

नेपाली नागरिकता पाएपछि सरकारी नोकरीदेखि राज्यबाट प्रदान हुने सबै सेवा सुविधा प्राप्त गर्ने अधिकार नागरिकता पाएकालाई हुन्छ।

नागरिकताको यही महत्व बुझेकी उनले नागरिकता लिन भने बुबा (नक्कली बुबा) धुरुपप्रसाद पटेललाई बनाए। ५१ वर्षीय पटेलको घर पर्साको बहुदरमाई–२ मा पर्छ। उनै पटेल बुबा बनेर कविता कुमारीलाई २०७० पुस ११ गते नागरिकतामा सनाखत गरे। त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्साबाट कविताको नाममा नागरिकता जारी भयो।

जबकि, कविताको वास्तविक नाम सीता पटेल हो। नाम ढाँट्दै झुट्टा विवरणको आधारमा सीताले नागरिकता पाएको भने सुइँको प्रहरीले केही दिन अगाडि पायो। जसको आधारमा बुधबार पर्साको श्रीपुरबाट खटिएको प्रहरी टोलीले श्रीपुरबाट उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले केन्द्रविन्दुलाई बताए।

नियन्त्रणमा लिएर शरीर तलासी गर्दा उनले बोकेको झोलामा ३४–०१–७०–१०३५२ नम्बर भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला परेको र बरामद गर्दै पक्राउ गरिएको खनालको भनाइ छ।

त्यसपछि नागरिकतामा बुबा बनेर सनाखत गर्ने धुरुपप्रसादलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरू दुवै जनाविरुद्ध प्रहरीले नागरिकतासम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिएको छ।

Logo