१० असोज २०७८ आइतबार
केन्द्रबिन्दु बुलेटिन

सन्दर्भ बाघ दिवसः पाटेबाघ संरक्षणमा नेपाललाई सफलता (भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिल्दै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। सन् २०१८ को पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ रहेको छ। सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यसैबीच विश्व बाघ दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन्। 

नेपालमा पुनः कोरोना संक्रमितको दैनिक ग्राफ बढ्न थालेको छ। देशभर निषेधाज्ञा केहि सहज भएसँगै संक्रमितको संख्या बढ्दै गएको हो। अघिल्लो बिहिबार कुल संक्रमितको संख्या २ हजार ७ सय १४ रहेकोमा आज अर्थात बिहिबार कुल संक्रमितको संख्या ३ हजार ३ सय ६५ पुगेको छ। यस बीचमा दैनिक ३ हजार ८ सयसम्म संक्रमित देखिएको मन्त्रालयले जनाएको हो। यस्तै नेपालमा मात्र नभएर विश्वभर एक हप्ताभित्रमा ८ प्रतिशतले संक्रमित बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले केही जिल्लाको विवाद टुंग्याएर समाधान निकाल्न शीर्ष तहका नेतालाई ५ दिनको समय दिएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६–१९ मा हुने महाधिवेशनका लागि ५ दिनभित्र सबै विवाद टुंग्याउने जिम्मा दिएको हो। क्रियाशील सदस्यताको छानबिनका लागि असार मसान्तसम्म कार्यावधि रहेको समितिले १२ दिनको अतिरिक्त समयपछि मंगलबार प्रतिवेदन बुझाएको थियो। यस्तै कांग्रेसले क्रियाशील सदस्यताको ९६ प्रतिशतका टुंगिएको पनि जनाएको छ। 

दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ९१ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ। प्राधिकरणले कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएर यस्तो तथ्यांका निकालेको हो। यद्यपि कुल प्रयोगकर्ता मध्ये पछिल्लो समय नेपालमा फोरजीका ग्राहक भने घट्न थालेका छन्। केही महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन्।

जिटुजीमार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ। मल आयातसँगै यस वर्ष समयमा मल पाउँदा धान उत्पादनमा बृद्धी हुने आँकलन गरिएको छ। यद्यपि  किसानलाई सोझै कार्यालयले मल उपलब्ध नगराई थोक बिक्रेतामार्फत मल उपलब्ध गराउने प्रवृत्तिले चर्को मूल्यमा मल खरिद गर्न बाध्य परिएको भन्दै  किसानहरूले यसप्रति गुनासो गरिरहेका छन्।

प्रकाशित: १४ साउन २०७८ २०:०१ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी